प्रधानमन्त्री ओली र भारतीय वन मन्त्री यादवबिच शिष्टाचार भेट, क्षेत्रीय सम्मेलनको प्रस्ताव


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादवले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भेटमा दुई देशबिचको वातावरणीय सहकार्यबारे छलफल भएको थियो।

भेटका क्रममा मन्त्री यादवले सगरमाथा संवाद कार्यक्रममा आमन्त्रण गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै सगरमाथा विश्वकै सर्वोच्च शिखर भएकाले यसको संरक्षणमा सबै देशको साझा चासो रहनुपर्ने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले पनि मन्त्री यादवलाई संवाद कार्यक्रममा सहभागिता जनाइदिएकोमा कृतज्ञता प्रकट गर्दै उद्घाटन समारोहमा उहाँले दिएका सन्देशयुक्त मन्तव्यको प्रसंसा गरे ।

उनले वातावरणीय असर न्यूनीकरणका लागि क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याउँदै हिमालको संरक्षण, डढाइएको बालीको धुवाँबाट उत्पन्न हुने प्रदूषणलगायत विषयमा नेपाल, भारत, बंगलादेशजस्ता मुलुक मिलेर क्षेत्रीय सम्मेलनको आयोजना गर्नुपर्ने प्रस्ताव राखे ।

भेटका अवसरमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा.युवराज खतिवडा तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति थियो।