काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल वायुसेवा निगमलाई सधैँ सरकारी पैसा दिएर चलाइराख्न नहुने बताएका छन्।
शुक्रवार काठमाडौँमा आयोजित ‘डिजिटल नेपाल फ्रेमवर्क २.०’ कार्यक्रममा बोल्दै उनले निगमलाई सुधार गर्नुको साटो पटक–पटक अनुदान दिने प्रवृत्तिले समस्याको समाधान नहुने धारणा राखेका हुन् ।
उनले भने, “नेपाल वायुसेवा निगमको हालत अहिले पनि उस्तै छ। सधैँ पैसा दिएर चलाइराख्ने, यसबाट उन्नति हुन्छ भन्नु बाँदरको हातमा नरिवल दिनु जस्तै हो। यसले दुरुपयोग मात्र गर्यो, केही उपलब्धि छैन।”
गुरुङले विगतमा आफू मन्त्रालयमा रहँदा भोगेका समस्या अहिले पनि जस्ताका तस्तै रहेको स्मरण गरे। उनले निगमको स्थायी सुधारका लागि निजी क्षेत्रसँगको साझेदारीमा लैजानुपर्ने आवश्यकता औंल्याए।
“सरकारले धर्मपुत्र पालेको जस्तो निगमलाई पालिरहनु हुँदैन। आजको दिनसम्म हालत फेरिएको छैन। स्टाटेजिक पार्टनर खोजेर नियमावली संशोधन गर्दै अगाडि बढ्नुपर्छ,” मन्त्री गुरुङले भने ।
उनले निगम सुधारका नाममा पुराना असफल अभ्यासलाई दोहोर्याउने हो भने त्यसबाट केही उपलब्धि नहुने चेतावनी पनि दिए।
प्रतिक्रिया दिनुहोस्