धेरैतिर फर्किएकाहरूलाई गलत विचारका आधारमा वाम एकतामा ल्याउन सकिँदैनः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारविना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन् ।

एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि एकता नभई सही विचारमा अरूलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिएका हुन् ।

“सही कुरालाई पनि विरोध गरेर बखेडा निकाल्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा इतिहासदेखि नै देखा पर्दै आए । खास वैचारिक भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका आधारमा दुई लाइनको कुस्ती चलाइयो । पार्टी विभाजन गरेर नामका लागि एकीकृत राख्ने प्रवृत्ति पनि छ,” अध्यक्ष ओलीले भने ।

प्रधानमन्त्री ओलीले आफूहरुले शक्तिका स्रोत जनता नै हुन् भन्ने मान्यताका साथ जनताको शासन कायम गर्न खोजिएको उल्लेख गर्दै देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई आफूहरुले कहिल्यै नछोडेको स्पष्ट पारे ।

आफूहरूको नेतृत्वमा सरकार रहेकाले राजतन्त्र फर्काउने प्रतिगमनको प्रयास असम्भव र अस्वीकार्य भएको पनि उनकाे भनाइ थियो । उनले एमालेको नेतृत्वलाई बदनाम गरेर ढाल्न सकिने पार्टी ढाल्न सकिन्छ भन्ने तत्वहरुले अनेक षड्यन्त्र गरे पनि एमाले हरेक परिस्थितिको सामना गर्न तयार रहेकाले कार्यकर्ताहरुलाई एकताबद्ध भएर ढुक्का साथ अघि बढ्न आग्रह गरे ।

उनले जननेता भण्डारी कम्युनिष्ट आन्दोलनलाई समयानुकूल रुपमका हाँक्ने नीतिकार रणनीतिकार भएको स्मरण गर्दै विश्वमा कम्युनिष्ट आन्दोलन धराशयी हुँदै गएका बेला जबजको वैचारिक अगुवाइमा पार्टीलाई लोकप्रिय र दुई तिहाइको अवस्थासम्म पुर्याएको बताए ।

कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, आश्रित पत्नी माया ज्ञवालीलगायत सहभागी थियाे ।