सहकारी ठगी मुद्दामा सांसद आचार्यको प्रस्ताव: ६ महिनाभित्र रकम फिर्ता गर्न कबुल गरे जेलमुक्त गरौं


काठमाडाैँ । नेकपा (एमाले) का सांसद भिमप्रसाद आचार्यले सहकारी ठगीमा संलग्न व्यक्तिहरूलाई ६ महिनाभित्र पीडितको रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता गराएर जेलमुक्त गर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले सहकारीको समस्या देशको आर्थिक स्थायित्वमा ठूलो चुनौती बनेको उल्लेख गर्दै केवल जेलमा राखेर समस्या समाधान नहुने धारणा व्यक्त गरेका हुन्। उनले भने, “सहकारी समस्या अहिले हाम्रो देशमा ठूलो समस्याको रूपमा रहेको छ। सहकारी बचतकर्ताहरू करोडौँ ठगिएर बस्नुपरेको छ।”

सांसद आचार्यका अनुसार अहिले सहकारी ठगीमा संलग्न कोही भागेका छन्, कोही पक्राउ परेका छन् र कोही तारेखमा छुटेका छन्। यस्तो अवस्थामा समस्या समाधानका लागि नीतिगत पुनरावलोकन आवश्यक रहेको उनको भनाइ छ।

उनले भने, “यदि कोही जेलमा परेको वा विदेश फरार भएको व्यक्ति छ भने, उसले आएर ६ महिनाभित्र सबै पीडितको रकम फिर्ता गर्ने कबोल गर्छ भने उसलाई जेलमुक्त गर्ने कानुनी व्यवस्था गरिनुपर्छ। तर, तोकिएको समयभित्र रकम फिर्ता नगरेमा कडा कारबाही गरिने स्पष्ट प्रावधान पनि राखिनुपर्छ।”

सांसद आचार्यले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सहकारी समस्याबारे स्पष्ट नीति ल्याउनुपर्ने आवश्यकता पनि औंल्याए । “सहकारीको समस्या हल नगरी हुँदैन, र अहिलेको अवस्थाले त्यो सम्भव पनि देखिँदैन,” उनले भने, “त्यसैले यी नीतिगत कुराहरू आउँदो आर्थिक वर्षको बजेटले प्रष्ट गरोस्।”