लुम्बिनी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम आज


दाङ । लुम्बिनी प्रदेश सरकारकाे आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।

आज दिउँसो १:०० बजे बस्ने प्रदेश सभाको छैठौं अधिवेशनको पाँचौं बैठकमा माननीय प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सरकारको नीति तथा कार्यक्रम सम्बोधनमार्फत् सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश सभा सचिवालयका अनुसार सरकारले यसपालिको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, तथा नवप्रवर्तनका क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ ।

यथार्थ धरातललाई केन्द्रमा राखेर तयार गरिएको नीति तथा कार्यक्रमले अगाडि बढाइएका तर अधुरा रहेका योजनाहरूलाई सम्पन्न गर्ने उद्देश्य राखेको जनाइएको छ ।

साथै, प्रदेश सरकारले जनताको जीवनस्तर उकास्ने योजनालाई अनिवार्यरूपमा जोड्ने, स्थानीय उत्पादनको वृद्धि गर्ने, अर्गानिक खेती प्रणालीको विस्तार गर्नेजस्ता विषयहरूलाई प्राथमिक प्राथमिकतामा राख्ने जनाएको छ ।

नीति तथा कार्यक्रममार्फत प्रदेशमा समावेशी, दिगो र परिणाममुखी विकास सुनिश्चित गर्ने प्रयास गरिनेछ ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार, यो नीति तथा कार्यक्रमले लुम्बिनी प्रदेशको समग्र आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

विशेषगरी कृषि र पर्यटन क्षेत्रको विस्तारमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि र क्षेत्रीय समृद्धिलाई लक्षित गरिनेछ ।