सांसद केसीद्वारा किसानलाई समयमै मलखाद उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण


काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले किसानलाई समयमै मलखाद उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले प्रत्येक वर्ष झन्डै साढे सात लाख मेट्रिक टन मलखाद आवश्यक पर्ने भए पनि अहिलेसम्म पनि आवश्यक मात्रामा मल नआएकोप्रति गम्भीर आपत्ति जनाए। उनले मलखाद ढिलाइ हुँदा किसानहरू बढी मर्कामा पर्ने स्पष्ट पारे।

सांसद केसीले कृषि बजेटलाई अपर्याप्त भन्दै यसको पुनरावलोकन आवश्यक भएको धारणा राखे। उनले भने, “अहिलेको कृषि बजेट पर्याप्त छैन। कृषिको सिजन कुन हो, कुन बेलामा मल चाहिन्छ भन्ने कुरा सरकारले बुझ्नुपर्छ। तर जुन बेला मलको आवश्यकता हुन्छ, त्यही बेला मात्र टेन्डर प्रक्रिया थालिन्छ, जसले किसानलाई झनै अप्ठ्यारोमा पारिरहेको छ।”

उनले कृषि मन्त्रालयबाट जीवगत पाँच वर्षमा वितरण गरिएको सात अर्ब ६६ करोड रुपैयाँ बराबरको अनुदानको यथार्थ विवरण माग गर्दै त्यसको छानविन गर्न सरकारसँग माग गरे। उनले कृषि कोल्ड स्टोरको नाममा गएको ५ अर्ब ६७ करोड रुपैयाँ अनुदानसम्बन्धी अनुसन्धान र जवाफ माग गरे।

“कृषिमन्त्रीले आफूले वितरण गरेको अनुदान वास्तविक किसानले पाए वा नपाए, कति सदुपयोग भयो, कति अनियमितता भयो भनेर सार्वजनिक रूपमा छानविन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो,” सांसद केसीले भने, “त्यसमा अहिले के भइरहेको छ रु यसको जवाफ दिनुपर्छ।”

उनले कृषि क्षेत्रलाई राष्ट्रिय आवश्यकता भन्दै बजेटको निरन्तरतामा कुनै प्रकारको पक्षपात नगर्न पनि सरकारलाई आग्रह गरे।