प्रधानमन्त्री ओलीसँग युरोपियन युनियन प्रतिनिधिमण्डलको शिष्टाचार भेट, सहयोग र समृद्धि विषयमा छलफल


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले बालुवाटारमा आज शिष्टाचार भेट गरेका छन्।

नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित विभिन्न मुलुकका काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरूकाे उपस्थिति रहेको उक्त भेटमा नेपाल र युरोपियन युनियनबिचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरण गरिएको थियो।

प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र संविधानसभा मार्फत नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनमा उल्लेख्य प्रगति गरेको बताए।

दुई प्रमुख राजनीतिक दल नेकपा ९एमालें० र नेपाली काँग्रेसबीचको सहकार्यले समृद्धि र रोजगारी सृजना गर्न थप लगानी आवश्यक रहेकोमा जोड दिए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट पछाडि फर्कने सम्भावना नभएको स्पष्ट गर्दै नेपालको स्थायित्व र समृद्धिलाई आगामी लक्ष्य बनाएको बताए।

प्रधानमन्त्री ओलीले नेपालले भारत र चीन दुवै छिमेकीसँग घनिष्ट सम्बन्ध राख्ने र अन्य मुलुकहरूसँग पनि मित्रवत सम्बन्ध विस्तार गर्ने नीति निरन्तरता दिने स्पष्ट गरे।

साथै, सगरमाथा संवाद शृङ्खलाको निरन्तरता र हिमालदेखि समुन्द्रसम्मको अवधारणालाई महत्व दिने प्रतिबद्धता व्यक्त गरे। संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण भई दुई आयोग गठन भइसकेकोले अब न्याय कार्यमा ढिलाइ नहुने विश्वास पनि व्यक्त गरे।

युरोपियन युनियनका राजदूतहरुले नेपालको सामाजिक र आर्थिक विकासका प्रयासमा शिक्षा, पूर्वाधार, स्वास्थ्य, हरित ऊर्जा, सूचना प्रविधि र जलवायु परिवर्तनजस्ता क्षेत्रमा सहयोग जारी रहने आश्वासन दिएका थिए। उनीहरूले संक्रमणकालीन न्यायलाई प्रभावकारी रूपमा अघि बढाएकोमा खुशी व्यक्त गर्दै पीडितका मुद्दालाई केन्द्रमा राख्न आग्रह गरेका थिए। सगरमाथा संवादको सफल आयोजनाको लागि समेत प्रतिनिधिमण्डलले नेपाललाई बधाई दिएका छन्।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू र अन्य सहभागी पनि उपस्थित थिए।