किसानलाई गणतन्त्र होइन मल चाहिएको छः सांसद प्रधान


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले देशमा सुशासन आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले किसानलाई अहिले गणतन्त्र नभइ मल चाहिएको, जनतालाई गणतन्त्र नभइ सुशासन र सहकारी पीडितलाई गणतन्त्र नभइ पैसा फिर्ता चाहिएको बताएका हुन् ।

उनले जनभावना र मानिसका आस्थालाई प्रहार नगर्न चेतावनी दिए । उनले परिवर्तनका नाममा जहाज हाइज्याक गर्ने, अपराधिक घटनाहरू धेरै भएको भन्दै अब देश लुट्ने काम भइरहेको बताए ।

“किसानलाई अहिले मल चाहिएको हो की गणतन्त्र भन्दा के जवाफ आउँछ ? अहिले सुशासन चाहियो की गणतन्त्र चाहियो भन्दा के जवाफ आउँछ ? सहकारी पीडितलाई पैसा फिर्ता चाहियो की गणतन्त्र भन्दा के जवाफ आउँछ ? त्यसकारण जनभावनालाई, मानिसका आस्थालाई एउटा आस्थाले प्रतिनिधित्व गर्ने कुरालाई यस किसिमले प्रायोजित ढंगले कुरा गरिएका छन्, ति असल कुरा होइनन्,” उनले भने ।

सांसद प्रधानले आस्थालाई दबाउन शक्ति प्रयोग भए जनताले सुविधा नपाउने बताए ।