काठमाडौF । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनर्संरचनाका लागि सरकारको तर्फबाट तीन सदस्यीय उच्चस्तरीय सुझाव समिति गठन गरिएको छ ।
समितिको संयोजकमा प्रा.डा.गोविन्दराज पोख्रेल रहेका छन् भने अन्य दुई सदस्यमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. ईश्वरी कडरीया र डा.यज्ञ गजाधर खड्का रहेका छन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समितिका पदाधिकारीलाई पत्र हस्तान्तरण गर्दै नार्कलाई समय सापेक्षरूपमा सुधार गर्न समितिले उपयुक्त प्रस्ताव ल्याउने विश्वास व्यक्त गरे । समितिलाई ९० दिनभित्र सुझाव प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।
मन्त्रालयका अनुसार हाल नार्कको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक हुन नसकेको पृष्ठभूमिमा यो समिति गठन गरिएको हो । विगतका विभिन्न अध्ययनहरुले पनि नार्कलाई प्रभावकारी बनाउन पुनर्संरचना गर्नुपर्ने निष्कर्ष दिएका थिए । ती सुझावकै आधारमा मन्त्रालयले प्रस्ताव गरेको पुनर्संरचना योजनालाई हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो ।
समितिको कार्यक्षेत्रमा नार्कअन्तर्गतका ऐन, नियम, नीति तथा अन्य कानुनी दस्तावेज र प्रतिवेदनको समीक्षा गर्ने, विगतको उपलब्धि र चुनौती विश्लेषण गर्ने, अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गर्ने, संघीयताको भावना र मर्मअनुसार परिषद्लाई रुपान्तरण गर्ने, साथै वैज्ञानिकहरूको दीर्घकालीन संलग्नता सुनिश्चित गर्ने रणनीति प्रस्ताव गर्ने जस्ता कार्यहरू समावेश छन् ।
प्रतिक्रिया दिनुहोस्