उपभोक्ताकाे सुरक्षामा सरकार र निजी क्षेत्र गम्भीर हुनुपर्ने सरोकारवालाहरूकाे भनाइ


काठमाडाैँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेसनको संयुक्त आयोजनामा सोमबार काठमाडौँमा सम्पन्न ‘पत्रकारसँग उपभोक्ता सुरक्षा’ अन्तरक्रिया कार्यक्रममा विभिन्न निकायका सरोकारवालाहरूले उपभोक्ता सुरक्षाका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका छन्।

कार्यक्रमको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उपभोक्ता अधिकार सुनिश्चित गर्न सरकारले बजार अनुगमनलाई नियमित बनाएको र दोषीलाई कारबाही गरिरहेको जानकारी दिए।

उनले उपभोक्ता सुरक्षामा सरकार मात्र नभई निजी क्षेत्रको पनि समान जिम्मेवारी रहने धारणा व्यक्त गरे। साथै साल्ट ट्रेडिङले आपूर्ति शृङ्खला व्यवस्थापनमा योगदान पुर्‍याएको भन्दै त्यसको भूमिकाको प्रशंसा गरे।

पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले निजी क्षेत्रको एकाधिकार उपभोक्ताका लागि घातक हुने बताए। उनले साल्ट ट्रेडिङको मोडालिटीलाई उपयुक्त भन्दै निजी क्षेत्रको समावेशिताले काम गर्न सहज हुने उल्लेख गरे। उनले सरकारले सुपथ मूल्य पसलको लागत फिर्ता गर्न बाँकी रहेको पनि स्मरण गराए।

नाफिजकी अध्यक्ष मेनुका कार्कीले साल्ट ट्रेडिङको व्यावसायिक दक्षताको प्रशंसा गर्दै बजार मूल्य नियन्त्रणमा यसको भूमिका महत्वपूर्ण रहेको बताइन्। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका भट्टले साल्ट ट्रेडिङ उत्पादक र उपभोक्ताबिच पुलको रूपमा कार्य गरिरहेको भन्दै यसको जिम्मेवारीको प्रशंसा गरे।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले फ्री इकोनोमीमा संस्थागत प्रश्न उठ्नु स्वाभाविक भए पनि सबै पक्ष मिलेर बजार सुधार गर्नुपर्ने धारणा राखे। उनले एमआरपी लागू गर्ने काम भइरहेको जनाउँदै औषधी, मोटरस्पेयर पार्ट्स लगायतका क्षेत्रमा अनियमितता हटाउन सघन प्रयास भइरहेको बताए।

स्वास्थ्य सेवा विभागका वरिष्ठ पब्लिक हेल्थ अफिसर दीपक झाले विदेशी सहयोग रोकिँदा नुनमा आयोडिनको मात्राबारे अनुसन्धान प्रभावित भएको जानकारी दिए। अध्ययन आवश्यक भएकाले हालका आलोचनामा सतर्क हुनुपर्ने उनको भनाइ थियो।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत शरद विक्रम राणाले नेपालमा पनि उपभोक्ता सुरक्षालाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। विदेशी मुलुकमा उपभोक्ता अधिकार उल्लंघनमा कडा सजाय हुने जनाउँदै नेपालमा समेत प्रभावकारी कानुनको खाँचो औंल्याए।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नुनको गुणस्तरमा गुनासो भए उजुरी गर्न उपभोक्तालाई आग्रह गरे। अफवाह नफैलाउन आग्रह गर्दै उनले सत्य तथ्यको अनुसन्धान हुनु आवश्यक भएको बताए।

साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले उपभोक्ता सुरक्षामा संस्था कहिल्यै चुकेको छैन भन्ने दाबी गर्दै संस्थाले आपूर्ति शृङ्खलामा व्यावसायिकता र सामाजिक उत्तरदायित्व दुवै पालना गरिरहेको बताइन्। उनले दुर्गम जिल्लामा शैक्षिक सामग्री, मल, जडीबुटी र भूकम्प प्रतिरोधी घर निर्माण लगायतका क्षेत्रमा पनि साल्ट ट्रेडिङको सक्रियता रहेको जानकारी दिइन्।

साल्ट ट्रेडिङ कर्पोरेसनका डेपुटी प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले गर्भवती, सुत्केरी र वृद्धवृद्धाहरूका लागि छुट्टाछुट्टै नुन ल्याउन सरकारले अग्रसरता देखाउनुपर्ने बताए। उनले साल्ट ट्रेडिङको विगत, वर्तमान र भविष्यबारे कार्यपत्र प्रस्तुत गर्दै उपभोक्ता हितका पक्षमा संस्था क्रियाशील रहेको स्पष्ट पारे।