काठमाडौँकाे शुभश्री कलेजमा स्वास्थ्य तथा रक्तदान शिविर सम्पन्न, ३७ जनाले गरे रक्तदान


काठमाडौँ । ‘केवल ज्ञान होइन, सेवा र सहानुभूति पनि’ भन्ने नारासहित काठमाडौँको शुभश्री कलेज अफ म्यानेजमेन्टमा एक दिने स्वास्थ्य तथा रक्तदान शिविर सम्पन्न भएको छ। विद्यार्थीहरूको नेतृत्वमा आयोजित उक्त शिविरमा सयौँले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् भने ३७ जनाले रक्तदान गरेका छन्।

कलेज परिसरमा आयोजित शिविरमा दन्त परीक्षण, छाला रोगसम्बन्धी परामर्श, आँखाको परीक्षण, सामान्य स्वास्थ्य जाँच तथा महिलाहरूका लागि लक्षित पिसिओडी परामर्श सेवा प्रदान गरिएको थियो। शिविर नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सम्पन्न रक्तदान कार्यक्रमसँगै विविध स्वास्थ्य सेवामार्फत सम्पन्न भएको हो।

कलेजकी प्रिन्सिपल मनिता ओलीका अनुसार शिविरले विद्यार्थी, शिक्षक तथा समुदायमा सकारात्मक प्रभाव पार्नुका साथै सहभागी विद्यार्थीहरूको आत्मबल र नेतृत्व क्षमतामा वृद्धि गरेको छ। “विद्यार्थीहरूकै सक्रियतामा आयोजना गरिएको कार्यक्रम उनीहरूको व्यक्तित्व विकासमा सहयोगी बनेको छ,” उनले भनिन् ।

कम्युनिटी क्लबको नेतृत्वमा विद्यार्थी क्लबहरूको संयुक्त समन्वयमा आयोजित कार्यक्रममा फार्मा दाइ, सोवा हेल्थ केयर सेन्टर, काठमाडौं महानगरपालिका, एभरेष्ट भिजन आइ क्लिनिक, समाज डेन्टल (नयाँ बानेश्वर) लगायतका संस्थाहरूको उल्लेखनीय योगदान रहेको थियो।

कलेज परिवारले कार्यक्रम सफल बनाउन विशेष भूमिका खेलेका अमन साह र फार्मा दाइप्रति विशेष आभार व्यक्त गरेको छ। “स्वस्थ जीवन नै सबल भविष्यको आधार हो,” प्रिन्सिपल ओलीले भनिन्, “शैक्षिक उत्कृष्टतासँगै हामी उत्तरदायी र सहानुभूतिपूर्ण नागरिक निर्माणमा समर्पित छौँ।”