डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त


काठमाडौँ । नेपाल सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा नियुक्त गरेको छ।

डा. पौडेललाई आज बसेको मन्त्रीपरिषद् बैठकले नेपाल राष्ट्र बैंककाे अठाराैँ गभर्नरमा नियुक्त गरेकाे हाे । पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

आजै बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले पाैडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।

गठबन्धनबिच लामाे रस्साकस्सीबिच पाैडेल गभर्नर नियुक्त भएका हुन् ।

डा. पौडेलसँग लामो समयदेखि आर्थिक नीतिनिर्माण, योजना तथा अनुसन्धानको क्षेत्रमा कार्य अनुभव छ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रहिसकेका डा. पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), एसियाली विकास बैंक (एडिबी), मिलेनियम च्यालेन्ज नेपाल एमसीए नेपाल, नेपाल उद्योग परिसंघ (सीएनआई) जस्ता निकायहरूमा अर्थशास्त्री, आर्थिक सल्लाहकार, अनुसन्धानकर्ताका  योगदान पुर्‍याएका छन्।

काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत उनले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेबाट कृषि तथा स्रोत अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गरेका छन् भने कम्प्युटर विज्ञान तथा सफ्टवेयर इन्जिनियरिङमा मास्टर्स डिग्री समेत हासिल गरेका छन्।

शिक्षण क्षेत्रमा पनि उनले काठमाडौं विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टमा प्राध्यापकका रूपमा योगदान दिएका छन्। सन् २०१२ देखि निरन्तर शिक्षण, अनुसन्धान र नीति निर्माणमा सक्रिय रहेका उनी अर्थमन्त्री डा. प्रकाशशरण महतका प्रमुख आर्थिक सल्लाहकारको भूमिकामा समेत रहेका थिए।

उनका २० भन्दा बढी अनुसन्धानपत्र तथा पुस्तक अध्यायहरू प्रकाशित भएका छन्, जसमा लघुवित्त, सामाजिक हिंसा, कोभिड-१९ को भू-आर्थिक प्रभाव, लैङ्गिक व्यापार नीति, श्रम बजार विश्लेषण, वातावरणीय अर्थशास्त्र जस्ता विषयहरू समेटिएका छन्। उनका विश्लेषण र लेखहरू नेपालका प्रमुख सञ्चारमाध्यमहरूमा समेत प्रकाशित हुने गरेका छन्।

काठमाडौं विश्वविद्यालयमा प्राध्यापन सुरु गरेसँगै उनले नेपाली कांग्रेसको सक्रिय राजनीतिक भूमिकाबाट टाढिएको जनाएका छन्। उनी २०७९ सालको मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट चितवन क्षेत्र नं. १ मा उम्मेदवार बनेकामा पराजय भोग्नु परेको थियो।

पौडेल गभर्नर बन्ने चर्चासँगै सर्वोच्च अदालतमा उनी विरुद्ध गभर्नर बन्न अयोग्य भन्दै रिट दायरसमेत भएको थियो । मंगलवार नै सर्वोच्चले विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेशलाई सर्वोच्चले सदर गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले गभर्नर नियुक्तिको योग्यतामाथि उठाएको प्रश्न गम्भीर भए पनि अहिले अपरिपक्व देखिएको अदालतको ठहर छ । भविष्यमा त्यस्तो निर्णय भएमा तत्कालै अदालतमा रिट दर्ता हुनेगरी दरपीठ आदेश सदर भएको हो । यससँगै गभर्नर नियुक्तिको बाटो खुलेको हो ।