‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ काे स्टल बुकिङ बन्द, चर्चित ब्रान्डहरूको उल्लेखनीय उपस्थिति


काठमाडाैँ । आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्ने लागेकाे ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ का लागि स्टल बुकिङ प्रक्रिया बन्द गरिएको छ।

नाइमाकी अध्यक्ष रितु सिंह वैद्यका अनुसार ४४ ओटा स्टलका लागि ४८ ओटा आवेदन परेपछि सबै कम्पनीको सहभागिता सुनिश्चित गर्न नयाँ स्टल थप गरिएकाे छ। “उद्योग क्षेत्रको उत्साह निकै उत्साहजनक देखिएको छ, यसले मोबिलिटी क्षेत्रप्रतिको विश्वास झल्काउँछ,” अध्यक्ष वैद्यले भनिन्।

नेपालमा पहिलोपटक फरक ढंगले आयोजना गर्न लागिएको यो मोबिलिटी एक्स्पोले स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागितासहित अटोमोबाइल क्षेत्रको नवीनतम प्रविधि, विद्युतीय सवारी र स्मार्ट मोबिलिटी समाधानलाई एउटै थलोमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।

प्रदर्शनीमा बिवाईडी, सिट्रोएन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेन्ऱी भोल्ट्स, हुन्डाई, काईई, किया, लिप मोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिशी, निसान, ओमोडा एन्ड जाएकू, प्यूजो, प्रोटोन, रेनो, टोयोटा, भोल्क्सवागन र जिकर जस्ता चर्चित कार ब्रान्डहरूकाे सहभागी हुँदै छन्।

त्यस्तै, एम्पियर, एथर, बजाज, बेनेली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल एनफिल्ड, सेगवे-नाइनबट, सुजुकी, ट्रायम्फ, टिभिएस, अल्ट्राभायोलेट, याडिया र जिहो लगायतका दुई पांग्रे सवारी ब्रान्डहरूले आफ्ना विद्युतीय तथा पेट्रोल मोडेलहरू प्रदर्शन गर्नेछन्।

व्यावसायिक सवारी साधनतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हुआजी, कामा, क्यारी, किङलङ र सनलङ जस्ता कम्पनीहरूले ट्रक, मिनी बस र मालवाहक सवारी प्रदर्शन गर्ने तयारी गरेका छन्।

नेपालमा बदलिँदो यातायात प्रवृत्तिलाई आत्मसात् गर्दै आयोजना गर्न लागिएको नेपाल मोबिलिटी एक्स्पो २०२५ ले उपभोक्ता, व्यवसायी र प्रविधि प्रदायकबिचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिएको छ। उक्त प्रदर्शनीको व्यवस्थापन तथा समन्वय मिडिया स्पेस सोलुसन्स प्रा.लि. ले गर्ने नाइमाले जनाएकाे छ ।