स्याङ्जामा लागू पदार्थ चेकिङ अभियान सुरू, तीन चालकमाथि कारवाही


स्याङ्जा । स्याङ्जामा लागू पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्ने चालकहरू विरुद्ध कारवाही गर्नको लागि ‘ला.प.से. चेकिङ अभियान’ सुरू गरिएको छ।

सडक दुर्घटना न्यूनीकरण गर्नुका साथै यात्रुलाई सुरक्षित, मर्यादित र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यसहित सुरू गरिएको अभियान पुतलीबजार नगरपालिका–१ स्थित बिष्णुपधेरा बसपार्कबाट प्रारम्भ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा स्याङ्जा गण्डकी यातायात प्रा.लि.को सौजन्य तथा जिल्ला अस्पताल स्याङ्जाको प्राविधिक सहयोगमा सुरू भएको अभियानको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्याल रहेका थिए।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेको अध्यक्षता रहेको थियो भने स्याङ्जा गण्डकी यातायातका अध्यक्ष, पदाधिकारीहरू तथा स्थानीय सञ्चारकर्मीहरूको समेत उपस्थिति थियो।

कार्यक्रम सम्पन्नपछि सिद्धार्थ राजमार्गमा गुडिरहेका निजी तथा सार्वजनिक ३० वटा सवारी साधनहरू रोकी टेट्राहाइड्रोक्यानाबिनोल टेस्ट किटद्वारा लागू पदार्थ सेवन परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा तीन जना चालकले लागूपदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई कानूनी कारवाहीका लागि अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

कारवाहीमा परेका चालकहरूमा अर्जुनचौपारी गाउँपालिका–२ का ३१ वर्षीय चोक बहादुर गुरुङ, बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–३ का ३५ वर्षीय सुजन लामा र २२ वर्षीय खगेन्द्र भुषाल रहेका छन्। उनीहरूले क्रमशः लु.२ ख. २७९१, मधेश प्रदेश ०३-००१ ख. ८७७६, र ना.३ च. ४०४८ नम्बरका सवारी साधन सञ्चालन गरिरहेका थिए।