काठमाडाैँ । पेशागत महासंघ नेपालले ट्रेड युनियनका नेताहरुको जीवनशैलीमा प्रश्न उठाएको छ । मंगलवार पेशागत महासंघ नेपालको ३१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले ट्रेड युनियनका नेताहरुको बदलिँदो सौखिन जीवनशैलीबारे प्रश्न उठेका भन्दै छलफल गर्नुपर्ने बेला भएको बताएका हुन् ।
उहाँले ट्रेड युनियनका नेताहरुमाथि सरुवा, बढुवाको लिस्ट बोकेर व्यवस्थापन र सरकारलाई बुझाउने र सरुवा, बढुवाका लागि थर्काएर सरुवा हुनेबाट घुस लिने गरेको गुनासो आइरहेको भन्दै यसबारे अनुसन्धान जरुरी रहेको उल्लेख गरे । उनले ट्रेड युनियनलाई भ्रष्टको ट्याग लागेको भन्दै यसले राम्रो नगर्ने बताए ।
श्रमीक नेता भन्ने तर सुटेड, बुटेड लगाएर हिँड्ने विलाशी जीवन बिताइरहेको बारेमा उसको मापदण्डबारे छलफल जरुरी रहेको बताएका हुन् । विगतमा सामान्य तलव भत्ता खाएको व्यक्ति ट्रेड युनियनको नेता भएपछि उसँग आलिसान महल, आफ्नै पँजेरो गाडी लिएर विलाशी जीवन बिताइरहेको भन्दै यस बारेमा बहस जरुरी देखिएको बताए ।
उनले ट्रेड युनियन सञ्चालन गर्दा आएका विकृतिहरुको बारेमा समीक्षा गर्न जरुरी रहेको उल्लेख गरे । ट्रेड युनियनका नेताहरुको जीवनशैलीबारे पनि प्रश्न उठेको भन्दै त्यसबारेमा पनि छलफल र बहस हुनु जरुरी रहेको उनले बताएका हुन् ।
–न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्