काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आउँदो आर्थिक वर्षको बजेटमा प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्न विशेष बजेटको व्यवस्था गरिने बताएका छन्।
‘खाद्यका लागि कृषि’ अभियानद्वारा आयोजित एक महिने ‘जैविक कृषि जागरण यात्रा २०८२’ अन्तर्गतकाे सन्देश सार्वजनिक समारोहमा बोल्दै मन्त्री अधिकारीले रासायनिक मलको प्रयोग घटाएर प्राङ्गारिक मलको उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याएका हुन्।
“प्राङ्गारिक मलको उत्पादन नगरेर बस्ने अवस्था अब छैन,” उनले भने, “यसलाई वृद्धि गरेर अघि बढ्नुपर्छ। त्यसैले मैले आउँदो वर्षको बजेटमा केही पैसा छुट्याएर अगाडि बढ्नुपर्छ भनेर भनेको छु।”
उनले जागरण अभियानले कृषि क्षेत्रको अवस्थाबारे जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै राज्य सञ्चालन र कृषकका लागि सजिलो बनाउने खालको पहल सुरू भएको बताए।
मन्त्री अधिकारीले रैथाने खानाको प्रयोग घट्दै गएकाेमा चिन्ता व्यक्त गर्दै यसको असर हाम्रो स्वास्थ्य र रोगहरूको बढ्दो अवस्थासँग सम्बन्धित रहेको उल्लेख गरे। “म कोदो, रोटी खाएर हुर्किएको मान्छे हुँ। तर पछिल्लो पुस्ता भातमै निर्भर हुन थालेको छ,” उनले भने।
उनका अनुसार हालको आर्थिक वर्षका लागि २७ अर्ब रुपैयाँ बराबरको रासायनिक मलको उपयोग हुने भए पनि यही वर्षदेखि प्राङ्गारिक मलको उत्पादन र प्रयोग प्रारम्भ गरिनेछ।
रासायनिक मलको अत्यधिक प्रयोगले दीर्घकालीन असर पार्ने भएकाले अब यसप्रति चुप लागेर बस्न नसकिने उनको भनाइ थियो। “यो स्वाभाविक आवश्यकता हो, अब गम्भीर रूपमा लाग्नुपर्छ,” मन्त्री अधिकारीले भने ।
उनले कृषि मन्त्रालयभित्र केही समस्या रहेको स्वीकार गर्दै ती समस्याको समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए। विगतमा अनुदानको दुरुपयोग भएको भए पनि अहिले त्यस्तो अवस्था नरहेको उनले बताए। “कृषकलाई मन्त्रालयबाट आवश्यक सहयोग प्रदान गरिनेछ,” उनले भने ।
उनले ‘खाद्यका लागि कृषि’ अभियानले उठाएका समस्याहरूलाई सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताउँदै जैविक कृषि प्रवर्धनमार्फत खाद्य स्वच्छता र आत्मनिर्भरता हासिल गर्न सकिने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्