जलवायु पूर्वानुमानलाई केवल वैज्ञानिक दस्तावेजमा सीमित नराख्न मन्त्री खड्काको आग्रह


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले जलवायु पूर्वानुमानलाई केवल वैज्ञानिक दस्तावेजमा सीमित नराखी योजना निर्माणदेखि कार्यान्वयनसम्म प्रत्यक्ष उपयोगमा ल्याउन जोड दिएका छन्।

उनले जलवायु परिवर्तनका कारण मौसम चुनौतीहरू थप जटिल बन्दै गएको उल्लेख गर्नुहुँदै अबको नीति पूर्वानुमान र पूर्वतयारीलाई केन्द्रमा राखेर तयार गर्नुपर्ने धारणा राखे ।

राष्ट्रिय जल तथा मौसम विज्ञान विभागको आयोजनामा आयोजित राष्ट्रिय मौसम फोरम–२०८२ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खड्काले जलवायु पूर्वानुमानको प्रभावकारी उपयोगले जनधनको सुरक्षामा ठूलो भूमिका खेल्ने बताए ।

उनले भने, “पूर्व अनुमान र उचित सन्देश समयमै प्रवाह गर्न सकेमा ठूलो जनधनको सुरक्षा हुन्छ। केवल निर्माण होइन, संरक्षण, उत्पत्ति र उपयोग सबै पक्षमा पूर्व तयारी आवश्यक छ।”

मन्त्री खड्काले केही समयअघि सिस्नेरीमा भएको दुर्घटनाको स्मरण गर्दै, पूर्वानुमान र समयमै सूचना प्रवाह गर्न सकेको भए विद्यार्थीहरूको ज्यान जोगिन सक्थ्यो भन्ने दुःखद यथार्थप्रति चिन्ता व्यक्त गरे। त्यसैगरी, हिमाल आरोहणमा गएका पर्यटकहरू समयमै सूचना नपाएर अकालमा ज्यान गुमाउनु परेका घटनालाई उदाहरण दिँदै उनले यस्ता त्रासदी दोहोरिन नदिन प्रभावकारी पूर्वानुमान प्रणाली र सूचना संप्रेषणमा लाग्नुपर्नेमा जोड दिए।

उनका अनुसार, विपद् व्यवस्थापनमा सबैभन्दा छिटो प्रतिक्रिया स्थानीय तहको वडा कार्यालयबाट हुने भएकाले मौसमसम्बन्धी सूचना वडास्तरसम्म पुर्‍याउनु अत्यावश्यक छ। “सुतिरहेका मजदुरहरू राती खोलाको बाढीमा ज्यान गुमाउनु परेको घटनाबाट हामीले सिक्नुपर्छ – सूचनाको समयमा वितरण नै सुरक्षाको आधार हो,” मन्त्री खड्काले स्पष्ट पारे।

कार्यक्रममा मन्त्रालयका सचिवहरू सुरेश आचार्य र सरिता दवाडी, राष्ट्रिय योजना आयोगका सदस्यहरू, सरोकारवाला विज्ञहरू तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।