काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो रहेको बताएका छन्।
बुधवार बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बाँस्कोटाले प्रतिवेदनमा आफ्नो फरक मत नभई पूरक मत रहेको स्पष्ट पारेका हुन् । उनले प्रतिवेदन तयार पार्न धेरै मेहनत गरिएको भए पनि महत्वपूर्ण विषय समेटिन नसकेको जिकिर गरे ।
“मेरो फरक मत होइन, पूरक मत हो,” बाँस्कोटाले भने,”प्रतिवेदनमा मेहनत भएको छ तर केही कुरामा पुगिएन भन्ने हो। हामीले तथ्यांक खोज्न सक्ने थियौँ, तर त्यो तथ्याङ्क समावेश भएन।”
उनले पोखरा विमानस्थलको सम्झौता, ह्यान्डओभर प्रक्रिया, चाबी हस्तान्तरण लगायतका विषयमा अझ गहिरो अध्ययन आवश्यक रहेको बताए। “यो विषयमा छानबिन गर्नुपर्छ। तर छानबिन के पत्ता लगाउने भनेर होइन, के रहेछ भनेर जानुपर्छ,” उनले भने ।
बाँस्कोटाले उपसमितिका संयोजकले प्रतिवेदन बुझाएको दिन नै पत्रकारहरूले प्रतिवेदनबारे सोधेका बेला आफूले ‘सबै छ तर केही पनि छैन’ भनेर प्रतिक्रिया दिएको स्मरण गराउँदै प्रतिवेदन अझै अपूरो रहेको दोहोर्याए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे थप अनुसन्धान जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्