काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भ्रष्टाचारलाई ट्रेलर को संज्ञा दिँदै अब यसको फिल्म भैरहवामा हेर्नुपर्ने टिप्पणी गरेका छन्।
बुधवार बसेको संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १० अर्ब रुपैयाँभन्दा बढी रकम वार्ताद्वारा भ्रष्टाचार गरिएको गम्भीर आरोप लगाएका हुन्।
उनले विमानस्थलको सुरुवाती लागत १४५ मिलियन डलरबाट रातारात २१६ मिलियन डलर पुगेको उल्लेख गर्दै ७१ मिलियन डलर स्पष्ट रूपमा भ्रष्टाचार गरिएको दाबी गरे। “म चुनौतिका साथ भन्न चाहन्छु, १४५ मिलियनमा बन्ने एयरपोर्ट रातारात २१६ मिलियन पुगेको छ। ७१ मिलियन त्यहाँ खुलमखुला भ्रष्टाचार भएको छ,” उनले भने ।
उनले सार्वजनिक लेखा समिति कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे। “हामीले फ्लाइट प्रोसिडर डिजाइन माग्दा २०२२ नोभेम्बरको मात्र उपलब्ध भएको छ। २०१७ को डिजीले घरमा लगेर राखेको हो कि, हामीलाई थाहा छैन,” उनले भने ।
सांसद आलेले आर्थिक विवरण तथा करसम्बन्धी कागजात अर्थ मन्त्रालयसँग माग्दा समेत उपलब्ध नगराइएको गुनासो गरे। “कतै हाम्रो समिति धेरै कमजोर त भएनरु यति बलियो सार्वजनिक लेखा समिति किन दिनदिनै कमजोर हुँदैछ ?” भन्दै उनले समिति स्वयंको भूमिका माथि प्रश्न उठाए।
पोखरामा देखिएको भ्रष्टाचार अब भैरहवाको परियोजनामा अझ स्पष्ट देखिने संकेत गर्दै आलेले सरकार र सम्बन्धित निकायको जवाफदेहितामाथि प्रश्न उठाएका छन्।
प्रतिक्रिया दिनुहोस्