गभर्नर नियुक्ति स्वागतयोग्य छ तर सुशासनमा सरकार कमजोर भयोः सांसद विष्ट


काठमाडौँ । राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई ढिलै भए पनि सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्।

बुधबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्रीद्वारा बोलाइएको बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि सरकारले सम्भावित असहजताको डरले सहमति गरेर गभर्नर नियुक्त गरेको टिप्पणी गरेका हुन् ।

उनले भने, “हिजोमात्र राष्ट्र बैंकको गभर्नर नियुक्ति भएछ, अस्ति नेपाली कांग्रेसका सभापति प्रधानमन्त्रीले बोलाएको बैठकमा नगएपछि सरकार केही हुन्छ कि भन्ने डरले हिजो बिहान सहमति भएर नियुक्ति भएको हो, त्यसका लागि सरकारलाई धन्यवाद दिन चाहन्छु।”

सांसद विष्टले वर्तमान प्रविधिको युगमा पनि सरकारी अस्पतालहरूमा देखिएको अव्यवस्था र वेथिति अन्त्य हुन नसकेकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले वीर अस्पताल र टिचिङ अस्पतालजस्ता सरकारी स्वास्थ्य संस्थाहरूमा नागरिकहरू बिहान ४ बजेदेखि लाइनमा बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै वृद्धवृद्धालाई लक्षित गरी अनलाइन टिकट प्रणाली लागू गर्न सरकारसँग माग गरे।

“अहिलेका युवा स्वास्थ्य मन्त्रीलाई आग्रह गर्न चाहन्छु, कम्तिमा अनलाइन सिस्टममार्फत टिकट काट्ने व्यवस्था गरिदिए वृद्धवृद्धालाई सुविधा हुनेथियो,” उनले भने।

सांसद विष्टले अरबौं रुपैयाँ खर्चेर खरिद गरिएका तर प्रयोगमा नआएका उपकरणहरू सञ्चालनमा ल्याउन समेत सरकारको ध्यानाकर्षण गराए। यस्तै, उनले करिब १५ वर्षदेखि अलपत्र परेको अपर कर्णाली जलविद्युत् परियोजना अझै सम्पन्न हुन नसकेको र कर्णालीवासीको सपना त्यसले चकनाचुर बनाएकोप्रति दुःख व्यक्त गरे।