गर्भनर नियुक्तीपछि देखिएन सेयर बजारमा उत्साह, ६ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गर्भनर नियुक्ती भएको पहिलो दिन सेयरबजारमा सामान्य गिरावट आएको छ ।

आजको कारोबारको प्रि–ओपन सेसनमा ३४ अंकले बढेको नेप्से परिसूचक नियमित कारोबार सुरु भएको ५ मिनेट भित्र अर्थात् ११ बजेर ५ मिनेट भित्र करिब ७० अंकले वृद्धि भएको थियो तर यो वृद्धि केहीबेर पनि टिक्न सकेन् ।

बजार विस्तारै ओरालो लागेको नेप्से परिसूचक कारोबार बन्द हुने बेला ६.२० अंकले घटेर २६७१.२५ अंकमा खुम्चियो ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार नेप्सेमा राधी जलविद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६८ करोड ६८ लाख ६४ हजार बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा ओम मेघाश्री फर्माक्युटिकल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन ३१६ कम्पनीको २ करोड २१ लाख १४ हजार ८ सय ५२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब २६ करोड २२ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।