पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन आजै पास गरौँः सांसद मोदी


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले प्रमुख प्रतिपक्षलाई सार्वजनिक लेखा समिति सभापति नदिँदा प्रतिपक्षको छायाँ बनेको आरोप लगाएका छन्।

बुधवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सत्ता पक्षले नै सार्वजनिक लेखा समिति लिनेकुरा विगतमा पनि गलत रहेको र अहिले पनि राख्न नहुने बताएका हुन् ।

उनले विगतमा नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेसले पनि सत्तामा रहँदा सार्वजनिक लेखा समितिको नेतृत्व लिएको भन्दै यस्तो नजिर स्थापित गर्न नहुने बताए ।

“जुन सत्ता पक्षको प्रधानमन्त्री हुनुहुन्छ, त्यही सत्ताको सभापति हुँदा आजको हविगत भएको छ । सार्वजनिक लेखा समितिमा यदी प्रतिपक्ष अन्तर्राष्ट्रिय परम्पराअनुसार छ त्यही हुनुपर्छ । सत्ताको कहीँ न कहीँ छायाँ सार्वजनिक लेखा समिति पर्नु हुँदैन,” उनले भने ।

सांसद मोदीले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन आज नै पारित गरेर सम्बन्धित निकायमा पठाउन माग गरे।