काठमाडौँ । नेपालको वैदेशिक व्यापार १८ प्रतिशतले बढेको छ । बुधबार भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को १० महिनाको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिको तुलनामा चालू आर्थिक वर्षको पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापार १८.३७ प्रतिशतले बढेको हो ।
चालू आर्थिक वर्षको १० महिनामा नेपालले १६ खर्ब ९२ अर्ब ९ करोड ९३ लाख ९७ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख ८७ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
नेपालको आयात १३.११ प्रतिशतले बढ्दा निर्यात भने ७२.७१ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । नेपालले चालू आर्थिक वर्षको १० महिनामा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो । नेपालको निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशतले बढेको हो ।
चालू आर्थिक वर्षको १० महिनामा नेपालले १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजार रुपैयाँ बराबरको आयात गरेको छ । नेपालको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.११ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको १० महिनामा नेपालले १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँ बराबरको आयात गरेको थियो ।
नेपालको व्यापार घाटा ६.७२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख ९१ हजार रुपैयाँ रहेको व्यापार घाटा चालू आर्थिक वर्षमा १२ खर्ब ५६ अर्ब २७ करोड ७२ लाख ३८ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्