पोखरा विमानस्थलमा मेरो कार्यकालमा कुनै अनियमितता भएको भए कारबाहीको दायरामा आउँछुः सांसद भट्टराई


काठमाडाैँ । काठमाडौँ । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा आफ्नो कार्यकालमा कुनै अनियमितता भएको प्रमाणित भए आफैँ बयान दिन तयार रहेको बताएका छन्।

बुधबार बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक छानबिन गरी यथार्थ विवरण समितिमा पठाउनुपर्ने बताएका हुन् । उनले अनियमितता भेटिए दोषीमाथि कारबाही गर्न पनि ढिलाइ गर्नु नहुने स्पष्ट पारे ।

“यसमा आवश्यक छानबिन गरीकन यथार्थ विवरण यहाँ पनि पठाउनुपर्छ अख्तियारले,” भट्टराईले भने, “साथै आवश्यक कारबाही पनि गर्नुपर्छ। यो निर्णयको प्रक्रियामा मेरो पार्टीको कोही संलग्न छन् भने हामी कारबाहीको दायरामा आउँछौँ।”

भट्टराईले पोखरा विमानस्थलको निर्णय प्रक्रियामा कुनैपनि दलको संलग्नता भए कानुनी प्रक्रियाबाट अघि बढ्न आफू तयार रहेको उल्लेख गरे।