विगत १० वर्षमा नेपालमा ८ हजार ४ सय ४१ मनसुनजन्य विपद्, चट्याङ र पहिरोको संख्या बढ्दो


काठमाडाैँ । विगत १० वर्षमा नेपालमा बाढी, पहिरो, भारी वर्षा र चट्याङ जस्ता ८ हजार ४ सय ४१ मनसुनजन्य विपद्का घटनाहरू भएका छन्।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीवार बसेको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले यस्ता जानकारी दिए ।

भट्टका अनुसार विगत १० वर्षमा मात्र बाढीका १ हजार ६ सय २, पहिरोका २ हजार ८ सय ४०, भारी वर्षाका १ हजार ५ सय ९७ र चट्याङका २ हजार ४ सय घटनाहरू भएका छन्। उनले यस्ता घटनाहरू हरेक वर्ष बढ्दो क्रममा रहेको बताउँदै यस वर्ष पनि गत वर्षको तुलनामा बढी पानी पर्ने र तापक्रम पनि सरदरभन्दा माथि हुने प्रक्षेपण गरिएको जानकारी दिए।

“यस वर्ष अघिल्ला वर्षहरूभन्दा धेरै विपद् आउने सम्भावना रहेको अनुमानका आधारमा हामी पूर्वतयारीमा लागिरहेका छौं,”उनले भने।

मनसुनजन्य विपद् व्यवस्थापनमा अझ प्रभावकारी हुन नीतिगत र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै कार्यकारी प्रमुख भट्टले विपद् व्यवस्थापनलाई मात्र संघीय सरकारको जिम्मेवारी ठान्नु नहुने स्पष्ट पारे । उनले स्थानीय तहको भूमिका बढाउन र उनीहरूको क्षमता विकास गर्नुपर्नेमा जोड दिए।