वैशाख मसान्तसम्म ३ लाख २ हजार मेट्रिक टन रासायनिक मल आपूर्ति, ५ लाख ५० हजार टन आपूर्ति गर्ने लक्ष्य


काठमाडाँ । चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा नेपालमा ३ लाख २ हजार ६५० मेट्रिक टन अनुदानित रासायनिक मल आपूर्ति भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार रासायनिक मलमध्ये युरियाको आपूर्ति सबैभन्दा बढी भएकाे छ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मार्फत युरिया १ लाख ८७ हजार ४४२ मेट्रिक टन आपूर्ति भएको छ। डीएपी मल ९९ हजार ९४२ मेट्रिक टन र पोटास १५ हजार २६५ मेट्रिक टन आपूर्ति भएको मन्त्रालयले जनाएको छ।

गत वर्षको मौज्दात समेत जोड्दा हाल देशभर ७३ हजार मेट्रिक टनभन्दा बढी मल मौज्दातमा रहेको मन्त्रालयको दाबी छ। युरिया १६ हजार ८९६ मेट्रिक टन, डीएपी ४५ हजार २६ मेट्रिक टन र पोटास ११ हजार १३१ मेट्रिक टन मौज्दातमा छन्।

यस्तै, मल बिक्रीतर्फ हेर्दा युरिया २ लाख १० हजार २७८ मेट्रिक टन, डीएपी १ लाख १६ हजार ८३४ मेट्रिक टन र पोटास १२ हजार ९१० मेट्रिक टन गरी कुल ३ लाख ४० हजार मेट्रिक टनभन्दा बढी मल किसानहरूसम्म पुगेको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको छ।

यता, आगामी दिनमा मल आपूर्ति झनै सहज बनाउने तयारी पनि सरकारले गरिरहेको छ। मन्त्रालयका अनुसार ३० हजार मेट्रिक टन युरिया कोलकाता आइपुगेको र त्यसको नेपाल प्रवेश सुरू भइसकेको छ। त्यस्तै, आगामी जेष्ठ महिनाको पहिलो सातादेखि थप ३४ हजार मेट्रिक टन युरिया नेपाल भित्र्याउने तयारी सरकारकाे रहेको छ।

यस वर्षको वार्षिक लक्ष्य ५ लाख ५० हजार मेट्रिक टन मल आपूर्ति गर्ने रहेको छ भने उक्त लक्ष्यअनुसार टेण्डर प्रक्रिया पूरा भइसकेको मन्त्रालयले जनाएको छ।

कुल बजेट २७ अर्ब ९५ करोड रुपैयाँ तोकिएको छ तर वैशाख २१ गते सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि मन्त्री रामनाथ अधिकारीले देशमा वार्षिक ११ लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता भएपनि चार लाख टन मल मात्रै उपलब्ध रहेको उल्लेख गरेका थिए ।

उनले देशभर रासायनिक मलको अभाव रहेको स्वीकार गर्दै सरकार प्राङ्गारिक मल र जैविक मलको नीतिमा अगाडि बढिरहेको बताएका थिए ।