काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधीन पूर्वाधार योजनाहरूको काममा तीव्रता दिन निर्देशन दिएका छन्।
सडक विभागद्वारा शुक्रबार काठमाडौँमा आयोजित वार्षिक एकीकृत सडक मर्मत योजना सम्वोधन गर्दै मन्त्री दाहालले चालु आर्थिक वर्षको बाँकी समयलाई अधिकतम उपयोग गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएका हुन् ।
“यो वर्षको समय सकिन लागेको छ, सबैभन्दा बढी काम गर्नु पर्ने बेला पनि यही हो,” उनले भने, “अब कछुवा जस्तो घस्रिएर होइन, खरायो जस्तै तेज भएर काम गर्नु होला।”
मन्त्री दाहालले आफूले पदभार ग्रहण गरेयता रुग्ण आयोजनाहरूको समाधानलाई प्राथमिकता दिएको बताउँदै समस्या देखिएका आयोजनाहरूमा तत्काल समाधानका लागि अग्रसर हुन सम्बन्धित निकायलाई आग्रह गरे ।
साथै, अबदेखि सुरू हुने कुनै पनि योजना अलपत्र नपरोस् भन्नेमा विशेष ध्यान दिन र समस्या लुकाउने होइन, सामूहिक प्रयासबाट समाधान खोज्नुपर्नेमा पनि उनले जोड दिए ।
वर्षायाम नजिकिँदै गएको सन्दर्भमा मन्त्री दाहालले क्षति भएका वा निर्माणाधीन सडकहरूमा यातायात अवरुद्ध नहुने व्यवस्था मिलाउन पनि निर्देशन दिए । “अधिकतम स्रोत साधन परिचालन गरेर भए पनि यातायात सञ्चालनमा असर नपर्ने गरी पूर्वतयारी गर्नुहोस्,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्