नाडा र गभर्नर पौडेलबिच भेटवार्ता,अटोमोबाइल क्षेत्र सुधारका लागि पाँच बुँदे सुझाव पेश


काठमाडौँ । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग आज नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले भेटवार्ता गर्दै अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत, वित्तीय तथा व्यवहारिक समस्याहरूका विषयमा छलफल गरेको छ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको उक्त टोलीले वर्तमान मौद्रिक नीतिले अटोमोबाइल उद्योगमा पारेको प्रभाव, विद्यमान समस्याहरू तथा त्यसको समाधानका उपायहरूबारे विस्तृत रूपमा विचार राख्दै तत्काल कार्यान्वयन गर्न सकिने पाँच बुँदे सुझाव गभर्नरसमक्ष प्रस्तुत गरेको हो।

अध्यक्ष चौधरीले अटोमोबाइल उद्योग नेपालमा राजस्व संकलन, रोजगारी सृजन, प्रविधिको स्थानान्तरण तथा दिगो विकासका लक्ष्यसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको उल्लेख गर्दै यस उद्योगको सुदृढिकरणका लागि नीति, वित्त र व्यवहारबिच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए।

उनले राष्ट्र बैंकले अटो ऋण खोल्ने निर्णय गरेको एक वर्ष बितिसकेको भए पनि बैंकहरूले व्यावहारिक रूपमा कर्जा प्रवाह नगरेको अवस्था रहेको भन्दै कर्जाको सुनिश्चितता र स्पष्ट कार्यान्वयनको माग गरे। त्यस्तै, हालको लाेन टू भ्यालु अनुपात ५० प्रतिशतले ग्राहक र व्यवसाय दुवैलाई अवरोध सिर्जना गरिरहेको उल्लेख गर्दै त्यसलाई न्यूनतम ७० प्रतिशतमा ल्याउनुपर्ने माग नाडाले गरेकाे छ।

नाडाले डेबिट सर्भिस टू ग्राेस इनकम रेसियाे( डिएसआर) मा व्यवहारिक लचकता ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै, हालको सख्त डिएसआर मापदण्डका कारण मध्यम वर्गीय तथा तलबमुखी ग्राहकहरूले कर्जा पाउन कठिनाइ भोगिरहेको तथ्य प्रस्तुत गर्‍यो। साथै, दिगो ऊर्जा र वातावरणीय लक्ष्यमा टेवा पुर्‍याउन विद्युतीय तथा हाइब्रिड सवारीसाधनका लागि लक्षित कर्जा योजना, पुनःवित्तीयन सुविधा तथा प्रोत्साहन कार्यक्रम आवश्यक रहेको सिफारिस गरिएकाे छ ।

भेटको क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले दीर्घकालीन आर्थिक नीति निर्माणको सन्दर्भमा नेपाल राष्ट्र बैंकको सहकार्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रस्ताव राखे।

गभर्नर डा. विश्वनाथ पौडेलले अटोमोबाइल क्षेत्रको समस्या तथा नाडाद्वारा प्रस्तुत सुझावहरूलाई गम्भीरतापूर्वक लिइने बताउँदै, आवश्यक विषयमा छलफल र समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए।

भेटघाट तथा छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, तथा केन्द्रीय कार्यसमिति सदस्य यमुना श्रेष्ठ र दिपेन्द्रकुमार मिश्रको पनि उपस्थिति रहेको थियो।