काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विकासमा पछाडि पर्नुको मुख्य कारण कार्यकारी संयन्त्र र संस्थागत संरचनाको असफलता भएको टिप्पणी गरेका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले यस्तो टिप्पणी गरेकाे हुन् ।
उनले विकास र समृद्धि मुलुकको कार्यकारी संस्थाहरूको प्रभावकारीता र कार्यान्वयन क्षमतामा निर्भर रहने भएपनि नेपालका संयन्त्रहरू क्रियाशील हुन नसकेको बताए ।
नेपालको विकास र समृद्धिका लागि गेम चेन्जर आयोजनाको रुपमा हेरिएका कर्णालीको चिसापानी आयोजना, निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र हुलाकी राजमार्ग दशकौंसम्म पनि सम्पन्न नहुनु देशको कार्यकारी संरचनाको असफलता भएको शर्माको भनाइ छ ।
उनले संस्थागत सोच, कार्यसंस्कृति र नेतृत्व क्षमताको अभावले देशलाई पछाडि पारेको उल्लेख गर्दै कार्यकारी संयन्त्रमा सुधार नगरी विकास सम्भव नहुने जिकिर गरे ।
उनले मुलुकको विकासलाई गति दिन सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध दृढ संकल्पसहित समर्पित नेतृत्वको आवश्यकता रहेको उल्लेख गरे । संविधान संशोधन कार्यान्वयनमार्फत मुलुकको व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाका कामकारबाहीलाई जनताको अधिकारमा प्राप्तिमा केन्द्रित गर्नुपर्नेमा उनको जोड छ ।
प्रतिक्रिया दिनुहोस्