काठमाडौँ । अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) को छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ। यस विषयमा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रमार्फत अनुमति पत्र छपाइ गर्ने व्यवस्था मिलाइएको हो। विगतमा नविकरण गरिएका लाइसेन्स लामो समयसम्म नपाउँदा सेवाग्राहीले असहज अवस्था भोग्दै आएका थिए।
सार्वसाधारणको समस्यालाई ध्यानमा राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पटकपटक विभागलाई समाधान खोज्न निर्देशन दिएका थिए। लाइसेन्स उपलब्ध नहुँदासम्म राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यता हटाउन नागरिक एप मार्फत डिजिटल लाइसेन्सको व्यवस्था गरिएको छ। अहिले सोही एपका आधारमा ट्राफिक प्रहरीले नियमन तथा जरिवाना असुलीको काम गर्दै आएको छ।
तर, स्थायी समाधानका लागि अनुमति पत्र समयमै छपाइ गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री दाहालले छिटो र प्रभावकारी सेवा दिन वैकल्पिक उपाय खोज्न निर्देशन दिएका थिए। सोही सन्दर्भमा भौतिक पूर्वाधार मन्त्री दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्बा गुरुङसहित सम्बन्धित सचिवहरूको सहभागितामा छलफलसमेत भएको थियो।
दुवै निकायबिच भएको सहकार्य अनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्तभित्र पहिलो चरणको छपाइ सम्पन्न गरी अनुमति पत्र विभागलाई हस्तान्तरण गर्नेछ। समझदारी पत्रमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना र यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले हस्ताक्षर गरेका छन्।
अब छापिने चालक अनुमति पत्रमा क्युआर कोडसहितका विभिन्न सुरक्षा विशेषता समावेश गरिनेछ, जसले सेवा छरितो, प्रभावकारी र पारदर्शी हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्