काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा देखिएको पछिल्लो घटनाक्रमसँग मन्त्रालय नेतृत्वलाई जोडेर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका समाचारप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालद्वारा जारी विज्ञप्तिमा यस्ता समाचारहरू कपोलकल्पित, भ्रामक र पूर्णरूपमा आधारहीन रहेको उल्लेख गरिएको छ। मन्त्रालयले मन्त्रालय नेतृत्व कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न नरहेको र भविष्यमा पनि यस्ता कार्यबाट पूर्णरूपमा अलग रहने स्पष्ट पारेको छ।
“विगत केही दिनयता विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर आएका समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता समाचारप्रति हामी दुःख व्यक्त गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ।
गृह मन्त्रालयले साँचो र प्रमाणित तथ्यमा आधारित समाचार मात्र प्रकाशन–प्रसारण गर्न आग्रह गर्दै संचारमाध्यमहरूलाई सत्य र जिम्मेवार पत्रकारिता गर्न अनुरोध गरेको छ।
मन्त्रालयले देशमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम राख्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै अनियमितता तथा अपराधका विरुद्ध शून्य सहनशीलताको नीतिमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल अनुसन्धान गरिरहेको जनाइएको छ। मन्त्रालयले अनुसन्धान सकिएपछि सम्पूर्ण सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गर्दै आयोगलाई आवश्यक सम्पूर्ण सहयोग पुर्याइरहेको जानकारी गराएको छ।
प्रतिक्रिया दिनुहोस्