वर्षासँगै फैलन सक्ने महामारी नियन्त्रणमा मन्त्रालय सक्रिय, लामखुट्टे नियन्त्रण अभियान अघि बढाउने तयारी


काठमाडौँ । वर्षा सुरू भएसँगै स्वास्थ्य मन्त्रालयले संभावित महामारी नियन्त्रणका लागि सक्रियता बढाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको नेतृत्वमा मन्त्रालयमा आयोजना गरिएको उच्चस्तरीय बैठकमा विभिन्न विभाग तथा महाशाखाका प्रमुखहरुसँग सम्भावित स्वास्थ्य संकटबारे छलफल भएको छ।

मन्त्री पौडेलले वर्षायाममा पानीजन्य र कीटजन्य रोगहरूको जोखिम उच्च हुने भएकाले आजैदेखि सजगता अपनाउन निर्देशन दिए। “वर्षाको सिजन सुरु भइसकेको छ,” उनले भने, “पानी तथा कीटजन्य महामारीबाट जोगिन आ–आफ्नो तर्फबाट तयारी थाल्नुहोला।”

डेंगी, झाडापखाला, टाइफाइड र ज्वरोजस्ता रोगहरू वर्षापछि दुषित पानी तथा लामखुट्टेका कारण फैलने भएकाले जनचेतना, रोकथाम र उपचार तयारीमा अब ढिला नगर्न उनले स्पष्ट पारे। मन्त्री पौडेलले लामखुट्टे नियन्त्रणका लागि विशेष अभियान चलाउने तयारी गर्न पनि निर्देशन दिए।

कोभिड संक्रमण भारत लगायत अन्य देशहरूमा देखिन थालेको सन्दर्भमा सीमावर्ती नाकाहरूमा निगरानी र सुरक्षा व्यवस्थामा विशेष ध्यान दिनुपर्ने बताउँदै उनले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी काम अघि बढाइरहेको जानकारी गराए।

“महामारी आएको बेला मात्र सक्रिय हुने चलन अब बन्द गर्नुपर्छ,” मन्त्री पौडेलले भने, “महामारी कोष प्रभावकारी बनाएर समयमै राहत पुर्‍याउने दिशामा कार्यान्वयन हुनुपर्छ।”

बैठकले महामारी नियन्त्रणका लागि छिट्टै वडा तहसम्म पुग्ने गरी तीनै तहबिच समन्वयात्मक बैठक आयोजना गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।