काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले श्रीलङ्काका उद्यमी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
श्रीलङ्का भ्रमणको क्रममा आयोजित ‘नेपाल-श्रीलङ्का व्यापार एवं व्यवसाय सम्मेलन’मा उनले नेपाल जलविद्युत, सूचना प्रविधि तथा पर्यटन क्षेत्रका लागि अत्यन्त सम्भावनायुक्त गन्तव्य रहेको उल्लेख गरेका हुन् ।
कोलम्बोस्थित नेपाली राजदूतावासद्वारा आयोजित उक्त सम्मेलनमा अध्यक्ष अग्रवालले नेपाल लगानीका लागि सुरक्षित प्रतिफलको उत्कृष्ट गन्तव्य भएको बताउँदै विदेशी लगानीकर्ताको लागि अनुकूल वातावरण निर्माण भइसकेको जानकारी दिए । उनले नेपालमा लागू भएका आर्थिक र नीतिगत व्यवस्थाहरूले विदेशी लगानीकर्तामा उत्साह थपिदिएको समेत उल्लेख गरे ।
श्रीलङ्काका नेश्नल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटघाटमा अध्यक्ष अग्रवालले दुई देशका निजी क्षेत्रबिच रणनीतिक साझेदारी र संयुक्त लगानीको आवश्यकता औंल्याए । उनले व्यापार सहजीकरणका लागि दुवै पक्षबीच दोहोरो भ्रमणलाई निरन्तरता दिनुपर्ने धारणा पनि राखे ।
सम्मेलनमा दुई देशबिचको व्यापारिक अवसर, लगानीका चुनौती, नीति तथा कानुनी संरचना लगायतका विषयमा व्यापक छलफल भएको थियो। अध्यक्ष अग्रवालका अनुसार नेपालमा लगानीप्रति श्रीलङ्काको निजी क्षेत्र सकारात्मक देखिएको छ।
प्रतिक्रिया दिनुहोस्