नेपाल १०० ठुला अर्थतन्त्रको सूचीमा


काठमाडौँ । कुल गार्हस्थ उत्पादन (जीडीपी)का आधारमा नेपाल विश्वका १०० ठुला अर्थतन्त्रको सूचिभित्र परेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को पछिल्लो ‘वर्ल्ड इकोनोमिक आउटलुक ‘ प्रतिवेदनअनुसार सन् २०२५ मा ४६.०८ अर्ब अमेरिकी डलरको जिडिपीसहित विश्वका १०० ठुला अर्थतन्त्रको सूचीमा समावेश भएको हो।

सन् २०२४ मा नेपाल १०३ औं स्थानमा थियो । सन् २०२४मा नेपालले युरोपेली मुलुक लातिभियालाई उछिनेको हो ।

यद‍्यपि सन् २०२५ को तथ्याङ्कमा श्रीलङ्काको विवरण समावेश नभएकालेमात्र नेपाल १०० औं स्थानमा रहेको रहेको हो ।

सन् २०२४ मा ८३.७२ अर्ब अमेरिकी डलरको जीडीपीसहित श्रीलङ्का ७६ औं स्थानमा थियो ।

भारत बन्यो चौथो ठुलो अर्थतन्त्र

आइएमएफको प्रतिवेदनअनुसार भारतले जापानलाई पछि पार्दै सन् २०२५ मा विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको छ।

मुद्रा कोषका अनुसार भारतको अर्थतन्त्रको कुल आकार ४१ खर्ब ८७ अर्ब अमेरिकी डलर पुगेको छ भने जापानको अर्थतन्त्रको आकार ४१ खर्ब ८६ अर्ब डलर बराबर रहेको छ ।

कुल ३०५ खर्ब ७ अर्ब अमेरिकी डलर (३०.५१ ट्रिलियन)को अर्थतन्त्रसहित अमेरिका नै विश्वको प्रमुख अर्थतन्त्र बनेको छ भने १९२ खर्ब ३१ अर्ब (१९.२३ ट्रिलियन)को अर्थतन्त्रसहित चीन दोस्रो स्थानमा छ ।

नेपाल उक्लियो कि तल झर्‍यो ?

मुद्रा कोषको विवरणअनुसार सन् १९९१ मा जम्मा ४ खर्ब ८६ अर्ब अमेरिकी डलरको अर्थतन्त्र भए पनि नेपाल विश्वका प्रमुख १०० अर्थतन्त्रमध्ये ९६ औं स्थानमा थियो । हाल श्रीलङ्काको तथ्याङ्क समायोजन गर्दा १०१ औं स्थानमा रहेको देखिन्छ ।

त्यसबेला अमेरिका पहिलो अर्थतन्त्र थियो भने जापान, जर्मनी, फ्रान्स र बेलायत दोस्रोदेखि पाँचौँ स्थानमा थिए । चीन त्यसबेला नवौं स्थानमा रहँदा भारत १७ औं स्थानमा थियो ।

मुद्रा कोषको तथ्याङ्कले नेपालले केही अफ्रिकी मुलुकका साथै पूर्व युरोपेली तथा ल्याटिन अमेरिकी केही साना देशहरूको अर्थतन्त्रलाई उछिनेको भए पनि खासै ठुलो फड्को मार्न नसकेको देखाएको छ ।