काठमाडाैँ । होटल क्षेत्रमा अर्बौं लगानी भएपनि बनेका विमानस्थल नचल्दा र सडकहरू समयमै नबन्दा होटल क्षेत्र ठूलो मारमा परेको छ ।
होटल एशोशिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय चेनहरू ल्याएर अर्बौं लगानी भएका होटलहरू खोले पनि राम्रो प्रतिफल पाउन नसकिएको बताएका हुन् । आगामी वर्षको बजेटबारे कुराकानी गर्दै अध्यक्ष शाहले होटल क्षेत्रमा क्षमता धेरै विस्तार भइसकेको बताए ।
अध्यक्ष शाहकाअनुसार हस्पीटालिटी क्षेत्रमा ३५–३६ लाख पर्यटक आउँदा पनि स्तरीय सेवा दिनसक्ने क्षमता छ तर कनेक्टिभिटी सुचारु नहुँदा समस्या भइरहेको छ । उनले भने,”आर्थिक चाप, देशमा तरलता धेरै छ । वाह्य सूचकहरू राम्रो देखिन्छ । व्यवसायीहरूले अनुभुति गर्ने भनेको आन्तरीक अर्थतन्त्र चलायमानबाट नै हो । तर त्यस्तो रूपमा देखिँदैन ।”
अध्यक्ष शाहकाअनुसार सरकारले नीति तथा कार्यक्रममा केही कुराहरू राम्रो ल्याएको छ, त्यसलाई समेत समेटेर बजेट ल्याउनुपर्छ । “बजेटले अहिलेको मुलभुत समस्या भनेको कनेक्टीभिटीलाई जोड दिनुपर्छ । पोखरा, चितवनका राजमार्गहरू वर्षौंदेखि बनिरहेका छन् । कहिले सकिने भन्ने यकिन छैन । समयसीमा नै तोकेर ती राजमार्गहरू स्तरोन्नति गर्नुपर्छ,”उनले भने ।
अध्यक्ष शाहकाअनुसार यस्ता कुराहरूलाई बजेटले सम्बोधन गर्नुपर्छ । पर्याप्त बजेट भएनन् भने ती राजमार्गहरूको भविष्य झनै अनिश्चित हुने भएकाले त्यसमा ध्यान दिन जरुरी रहेको उनले बताए। शाहले भैरहवा र पोखरा एयरपोर्टलाई द्रुत रूपमा पूर्ण सञ्चालनमा ल्याउनेगरी सरकार लाग्नुपर्ने बताए ।
अहिले देशमा तीन तहका सरकार भएकाले एकआपसमा समन्वयको खाँचो रहेको बताउँदै उनले निजी क्षेत्रबिच ती सरकारहरूले समन्वयन गर्न नसकेको समेत बताए । अध्यक्ष शाहकाअनुसार जतिसुकै नीति तथा कार्यक्रम बजेट राम्रो भएपनि त्यसको कार्यानवयन प्रभावकारी नभए अर्थ हुँदैन । विगतमा पनि राम्रा कार्यक्रम योजना ल्याइएपनि कार्यान्वयन भने हुन नसकेको उनको भनाइ छ ।
बजेटले यसपाली तोकेकोमध्ये १५-२० प्रतिशत मात्रै काम सुरू हुने र फत्ते नहुने गरेको शाहाले बताए । बजेट कार्यान्वयनलाई सरकारले प्रभावकारी हिसावले नबढाएसम्म निजी क्षेत्रको विकास नहुने उनको बुझाइ रहेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको सक्रियतामा अध्यादेशमार्फत आएको होटल क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रूपमा मान्यता दिइनु सकारात्मक भएको अध्यक्ष शाहको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्