काठमाडौँ । शौर्य सिमेन्ट उद्योग लिमिटेडको आर्थिक सहयोगमा उदयपुरको कटारी नगरपालिका वडा नम्बर ७ मर्जेतपुरस्थित श्री सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका वडा नम्बर ८, आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय भवन उद्घाटन समारोहका प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठले शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा शौर्य सिमेन्टले पुर्याएको योगदानको प्रशंसा गर्दै भने, “संरचना निर्माण मात्र पर्याप्त छैन, अब शैक्षिक गुणस्तर सुधारमा अभिभावकको सक्रियता पनि जरुरी छ।” उनले कार्यक्रमलाई प्रेरणादायी सम्बोधन दिएका थिए।
सो अवसरमा शौर्य सिमेन्टका सिनियर भाइस प्रेसिडेन्ट राजन झाले सामाजिक उत्तरदायित्वको भावनाका साथ स्थानीय तहसँग सहकार्य गर्दै अगाडि बढिरहेको कम्पनीको धारणा प्रस्तुत गर्दै भने, “देश समृद्ध बनाउन आर्थिक र राजनीतिक दुवै क्षेत्र सबल हुन आवश्यक छ।” साथै, निर्माण क्षेत्रले वातावरणमा पार्ने असर न्यूनीकरण गर्न इन्जिनियर टोली परिचालन गरेर अध्ययन तथा समाधानको प्रयास भइरहेको उनले जानकारी दिए।
विद्यालयका प्रधानाध्यापक जयबहादुर तामाङले शौर्य सिमेन्टले विगतदेखि नै निरन्तर विद्यालयमा सहयोग गर्दै आएको उल्लेख गर्दै विद्यालय परिवारको तर्फबाट उद्योगलाई धन्यवाद ज्ञापन गरे। विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर मगरले पनि उद्योगको योगदानप्रति आभार प्रकट गरे।
उद्योगका ब्रान्ड प्रबन्धक अनुज महतका अनुसार कार्यक्रममा विद्यार्थीहरूलाई खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिएको थियो भने सहभागी अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो।
त्यसैगरी, कटारी–८ मा निर्माण सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र भवनको पनि उद्घाटन गरिएको छ। स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले भवन हस्तान्तरणसँगै सेवा विस्तार सुरु गरिने जानकारी दिएका छन्। मेयर श्रेष्ठले यो भवनले स्थानीयवासीको स्वास्थ्य पहुँचमा सहजता ल्याउने विश्वास व्यक्त गरे।
वडाध्यक्ष नविन्द्र तामाङले वडाको भूगोल ठूलो भएकाले सेवा वितरणमा यस केन्द्रले सहजता ल्याउने बताउँदै अब वडाका लागि एम्बुलेन्स आवश्यक रहेको सुझाव समेत राखेका थिए ।
शौर्य सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा र स्वास्थ्यजस्ता सेवामा गरेको योगदान स्थानीय विकासमा उदाहरणीय बनिरहेको छ। कम्पनीले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूमा निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्