काठमाडौँ । नेपाली कांग्रेसले भिजिट भिसा तथा रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको ठहर गरेको छ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले गृहमन्त्री लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले गृहमन्त्री लेखकले कुनै गल्ती नगरेको र सो प्रकरणमा उनको संलग्नता नरहेको स्पष्ट पारे ।
“गृहमन्त्रीज्यूले अहिले जुन विषय सार्वजनिक रूपमा मिडियामा आएको छ, त्यस सम्बन्धमा उहाँले सविस्तार आफ्नो कुरा राख्नुभयो। आफूको कुनै संलग्नता नरहेको, कुनै गल्ती नगरेको प्रस्ट पार्नुभयो। हामीले उहाँको कुरामा पूर्ण विश्वास गरेका छौं,” प्रवक्ता महतले भने ।
उनका अनुसार गृहमन्त्रीले स्पष्ट रूपमा आफू निर्दोष रहेको बताएको र त्यसलाई पार्टीले स्वीकारेको हो। तर, उक्त प्रकरणमा जो संलग्न छन्, तीमाथि निष्पक्ष छानबिन र कडा कारबाही हुनुपर्नेमा पार्टी दृढ रहेको महतले बताए।
“भिजिट भिसाको दुरुपयोग र भ्रष्टाचार कांग्रेसलाई मान्य छैन,” प्रवक्ता महतले भने, “गृहमन्त्रीलाई छानबिनको दायरामा नराखी दोषी भन्न मिल्दैन। उहाँ यस प्रकरणमा संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त भएका छौं।”
हालै भिजिट भिसाको नाममा विदेश पठाउने र रकम असुली गर्ने प्रकरण सार्वजनिक भएपछि गृहमन्त्री लेखकको नाम पनि मिडियामा जोडिँदै आएको थियो तर, कांग्रेसले आधिकारिक रूपमा गृहमन्त्री निर्दोष रहेको धारणा सार्वजनिक गरेको हो।
प्रतिक्रिया दिनुहोस्