गृहमन्त्रीमाथि चरित्र हत्या र लाञ्छना लगाउने काम मात्रै भयोः कोइराला


काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि लगाइएका आरोपहरू गलत भएको दाबी गर्दै ती आरोपहरू चरित्र हत्या गर्ने नियतमै आधारित रहेको स्पष्ट पारेका छन् ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले गृहमन्त्री लेखकले बैठकमा दिएको स्पष्टिकरणपछि आफू पूर्णरूपमा स्पष्ट भएको बताए । उनले गृहमन्त्रीले ‘एक इञ्चपनि गल्ती नगरेको’ र लगाइएका सबै आरोपहरू ‘बेबुनियादी’ रहेको दोहोर्याए ।

‘गृहमन्त्रीले आज जुन कुरा राख्नुभयो, म छर्लङ्ग भएँ,’ नेता कोईरालाले भने, ‘एक इञ्चपनि उहाँले गल्ती गर्नुभएको छैन। जतिपनि आरोप लागेको छ त्यो बेबुनियादी आरोप हो। उहाँमाथि लाञ्छना लगाइएको छ, त्यो गलत हो।’

नेता कोइरालाका अनुसार गृहमन्त्री लेखकले मंगलबार प्रतिनिधिसभाको बैठकमा औपचारिक जवाफ दिनेछन्। काँग्रेसभित्रैबाट गृहमन्त्रीको राजीनामा माग गर्ने नेताहरूमाथि पनि पार्टी सभापतिले स्पष्टिकरण माग्नुपर्नेमा बैठकमा जोड दिइएको उनले जानकारी दिए ।

|हामीले सभापतिलाई भन्नु परेको छ, गृहमन्त्रीको राजीनामा माग्ने पार्टीका नेताहरुलाई बोलाएर किन यस्तो भनिएको हो भनेर सोध्नुपर्छ,’ उनले भने, “शेखर कोइराला, सुनील थापा र राजेन्द्र बजगाईसँग स्पष्टिकरण सोध्न भनिएको हो।”

नेता कोइरालाले काँग्रेसको संगठन चलाउन पार्टीका सबै हिस्सा बराबरी हुनुपर्ने र पार्टीको निकासका लागि निरन्तर बैठकहरू भइरहेको स्पष्ट पारे ।