बैंकमा व्यापारीको लगानी हुँदैमा सप्रिने र बिग्रने भन्ने हुँदैनः सांसद चौधरी


काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले नेपालमा बैंकर व्यवसायी बन्न मिल्छ कि मिल्दैन भन्ने विषयमा बहस चर्किएको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद चौधरीले हालको सन्दर्भमा यस विषयमा गम्भीर बहस भइरहेको बताएका हुन्।

उनले भने, “जुन ट्रेण्डमा विश्व गइरहेको छ, विश्वको अर्थतन्त्र जुन ढंगले अघि बढिरहेको छ, त्यस सन्दर्भमा हामी बैंकर व्यवसायी बन्न मिल्छ कि मिल्दैन भन्ने ठाउँमा मात्र सीमित भइरहेका छौं।”

सांसद चौधरीका अनुसार बैंक भनेको अर्थतन्त्रको इन्जिन हो, र त्यसलाई चलायमान बनाउने जिम्मेवारी पनि बैंककै हो। उनले निजी क्षेत्रको पूँजी नभएका बैंकहरूमा भ्रष्टाचारको सम्भावना बढी देखिएको टिप्पणी गर्दै भने, “आज बैंकमा व्यापारीको पूँजी भएन भनेर मात्रै त्यो बैंक खराब हुने भन्ने होइन। कतिपय बैंकहरूमा राम्रो स्वामित्व भएका प्रोफेसनल व्यक्तिहरूले चलाइरहेका छन् र ती राम्रो चलेका छन्।”

उनले विगत एक दशकको अवधिमा नयाँ उद्यमी उत्पादन गर्न सरकारले ल्याएका अधिकांश योजना असफल भएको बताएका छन्। चौधरीका अनुसार योजना आयोगदेखि प्रधानमन्त्री कार्यालयसम्मको समन्वयमा विभिन्न कार्यक्रमहरू ल्याइए पनि ती कार्यान्वयनको पक्षमा कमजोर भएका कारण लक्ष्य अनुसार उद्यमी जन्मिन सकेनन्।

नेपाल राष्ट्र बैंकले एक पटक १० देखि ३० लाखसम्मको पुँजी प्रदान गरी नयाँ उद्यमी उत्पादन गर्ने योजना ल्याए पनि त्यो योजना पनि “सजिलो बाटो” खोज्ने प्रवृत्तिका कारण असफल भएको उनले स्पष्ट पारे।

“आज साना, मझौला र माइक्रो उद्यमहरू सही व्यक्तिको हातमा जान सकिरहेका छैनन्। पूँजी प्रवाह हुनुपर्ने ठाउँमा जामजस्तै स्थिति छ,” चौधरीले भने। उनले बैंकको भूमिका अर्थतन्त्रलाई गतिको दिशा दिने संयन्त्रका रूपमा हुनुपर्नेमा जोड दिए।