फ्यानद्वारा काठमाडाैँका नर्सरी र पुष्प व्यवसायीहरूको फार्म अवलोकन, सुझाव र अनुभवहरू आदानप्रदान


काठमाडौँ । फ्लोरिकल्चर एसाेसिएसन नेपाल (फ्यान) को कार्ययोजना अनुसार पहिलो चरणमा ‘फ्यान नर्सरी उपसमिति’को आयोजनामा नर्सरी तथा पुष्प व्यवसायसम्बन्धी अवलोकन भ्रमण सम्पन्न भएको छ।

२०८२ साल वैशाख २८ गतेदेखि काठमाडौँ उपत्यकाभित्र रहेका अधिकांश नर्सरी, केही कट फ्लावर फार्म तथा खुद्रा पसलहरूको स्थलगत अवलोकन भ्रमण फ्यान कार्यसमिति र नर्सरी उपसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा सम्पन्न भएको हो।

भ्रमणको क्रममा पुष्प व्यवसायसँग सम्बन्धित विविध पक्षहरूमा व्यवसायीहरूसँग गहिरो छलफल गरिएको फ्यानले जनाएको छ। व्यवसायीहरूले कच्चा पदार्थ र आवश्यक सेवाहरूको मूल्य निरन्तर बढिरहे पनि फूल तथा बिरुवाहरू न्यून मूल्यमा बिक्री वितरण हुनु, गुणस्तरहीन फूल बिरुवा सामाजिक सञ्जालमार्फत सस्तोमा प्रवर्धन हुनु र त्यसबाट बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना भई गुणस्तरीय उत्पादनले पनि उचित मूल्य नपाउनुजस्ता समस्याहरू उठाएका थिए।

यस्ता समस्याको दीर्घकालीन समाधानका लागि एकीकृत मूल्य निर्धारणको अवधारणालाई अघि बढाउनु सकारात्मक पहल भएको भन्दै फ्यानको प्रयासप्रति व्यवसायीहरूले समर्थन जनाएका छन्।

भ्रमणका क्रममा बिरुवाको गुणस्तर सुधारका विषयमा पनि सहभागी व्यवसायीहरूबिच महत्वपूर्ण सुझाव र अनुभवहरूको आदानप्रदान गरिएको थियो।

समय अभावका कारण केही व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट हुन नसकेको फ्यानले जनाएको छ। त्यसैले निकट भविष्यमा बाँकी रहेका नर्सरी, कट फ्लावर फार्म, खुद्रा पसल तथा अन्य पुष्पजन्य व्यवसायसँग सम्बन्धित व्यवसायीहरूसँग समेत प्रत्यक्ष भेटघाट तथा अवलोकन भ्रमणलाई निरन्तरता दिइने फ्यानले जानकारी दिएको छ।

अवलोकन भ्रमणमा प्राप्त सुझाव तथा गुनासाहरूलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यले फ्यानले चाँडै पुष्प व्यवसायीहरूको भेला आयोजना गर्ने तयारीसमेत गरेको छ। उक्त भेलामा कार्यसमिति, उपसमितिहरू तथा सम्पूर्ण व्यवसायीबिच प्रत्यक्ष अन्तरक्रिया गराई दीर्घकालीन समाधानका उपायहरू तय गरिने प्रतिबद्धता फ्यानले जनाएको छ।