प्रतिनिधि सभामा आज आर्थिक सर्वेक्षण पेस हुने


काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुँदै छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको हो । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ ।

सरकारले बजेट सार्वजनिक गर्नु भन्दा एक वा दुई दिन अगाडी आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने प्रचलन छ ।

आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि, समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक तथा परिसूचकहरूको अवस्था र विश्लेषण समावेश गरिएको हुन्छ ।

आर्थिक सर्वेक्षणमा मुख्यतयाः समग्रत आर्थिक स्थिति, प्रादेशिक आर्थिक तथा सामाजिक स्थिति, सार्वजनिक वित्त, मूल्य विश्लेषण हुन्छ ।

यस्तै वित्तीय क्षेत्र, बाह्य क्षेत्र, गरिवी निवारण र रोजगारी, कृषि वन तथा भूमिसुधार लगायतका विषय पनि आर्थिक सर्वेक्षणमा समावेश हुन् छ।

उद्योग वाणिज्य आपूर्ति पर्यटन, आवास तथा सहरी विकास, वातावरण र उर्जा, भौतिक पूर्वाधार यातयात र संचार, सामाजिक क्षेत्र, पुननिर्माण, सुशासन, प्रशासन, लगायतका शीर्षक पनि समावेश गरेर सरकारले आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गर्दछ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संघीय बजेट ल्याउने व्यवस्था छ । बजेट आउनु २ अघि सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागको हो ।