राष्ट्रपतिलाई अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे ब्रिफिङ


काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी जानकारी गराएका छन् । सरकारले संविधानअनुसार जेठ १५ गते बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरिरहेकामा त्यसअघि राष्ट्रपतिलाई जानकारी गराइएको हो।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर मन्त्री पौडेलले बजेटको मुख्य संरचना र प्राथमिकताबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

संविधानको व्यवस्था अनुसार हरेक वर्ष जेठ १५ गते संघीय संसद्मा आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गरिन्छ। बजेट भाषण अगाडि राष्ट्रपतिलाई जानकारी गराउने परम्परा पछिल्ला वर्षहरूमा कायम रहँदै आएको छ।

सरकारले चालू आर्थिक अवस्थालाई सम्बोधन गर्दै रोजगार, उत्पादन र लगानी प्रवर्धनमा केन्द्रित बजेट ल्याउने संकेत यसअघि मन्त्री पौडेलले विभिन्न सार्वजनिक कार्यक्रममा दिँदै आएका छन् ।