संसद अवरुद्ध भएपछि आर्थिक सर्वेक्षण पेस हुन सकेन


काठमाडौँ । प्रमुख प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गरेपछि प्रतिनिधि सभामा पेश गर्ने भनिएको आर्थिक सर्वेक्षण रोकिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आज आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूचि थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरुद्ध गरेपछि आर्थिक सर्वेक्षण पेश हुन नसकेको हो ।

सरकारले हरेक वर्ष बजेट ल्याउनु एक वा दुइ दिन अघि आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने प्रचलन छ ।

आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि, समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक तथा परिसूचकहरूको अवस्था र विश्लेषण समावेश गरिएको हुन्छ ।

आर्थिक सर्वेक्षणमा मुख्यतयाः समग्रत आर्थिक स्थिति, प्रादेशिक आर्थिक तथा सामाजिक स्थिति, सार्वजनिक वित्त, मूल्य विश्लेषण हुन्छ ।

यस्तै वित्तीय क्षेत्र, बाह्य क्षेत्र, गरिवी निवारण र रोजगारी, कृषि वन तथा भूमिसुधार लगायतका विषय पनि आर्थिक सर्वेक्षणमा समावेश हुन्छन् ।

आज पटक पटकको अवरोधपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।

प्रतिपक्षी दलले गृहमन्त्रीले राजीनामा नदिँदासम्म सदन अवरुद्ध गर्ने अडान राखेका कारण जेठ १५ गते सदनमा बजेट पेश हुने नहुने समेत अन्योल देखिएको छ ।