काठमाडौँ । नेपाल डेरी एसोसिएसनको आयोजनामा तथा राष्ट्रिय दुग्ध विकास बोर्ड लगायत विभिन्न सरोकारवालाको सहकार्यमा विश्व दुग्ध दिवसको पूर्वसन्ध्यामा ‘दुधको खपत बढाऔं, अर्थतन्त्र सबल बनाऔं’ भन्ने मुल नारासहित अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित ब्रेन ल्याण्ड एकेडेमी स्कूलको सभाहलमा सम्पन्न प्रतियोगितामा उपत्यकाका १८ वटा विद्यालयका ३६ जना विद्यार्थीले दूध तथा दुग्धजन्य पदार्थको सामाजिक, आर्थिक तथा पोषण पक्षलाई समेटेर कविता वाचन गरेका थिए। अधिकांश कविताले कृषिमा बढ्दो परनिर्भरतालाई व्यंग्यात्मक शैलीमा चित्रण गर्दै पशुपालन व्यवसायलाई आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेको अध्यक्षता र बागमती प्रदेश सभा सदस्य जयराम थापाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा नीति तथा योजना आयोग बागमती प्रदेशका सदस्य डा. दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादव, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राज कुमार कार्की, नेपाल पाउरोटी संघका अध्यक्ष कमल अधिकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक तथा एसोसिएसनका केन्द्रीय सदस्य रमेश सञ्जेलले स्वागत मन्तव्य दिँदै प्रतियोगिताको उद्देश्य र महत्वबारे प्रकाश पारे। केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले दूधको मौलिकता र मोहीको प्रवद्र्धनमा एसोसिएसनको भूमिका उल्लेख गर्दै विद्यार्थीहरूमा सकारात्मक सोचको आवश्यकता औंल्याए।
मुख्य अतिथि जयराम थापाले दूध सम्पूर्ण पौष्टिक आहार भएको बताउँदै बालबालिकामा यसबारे चेतना फैलाउनु आवश्यक रहेको धारणा राखे। डा। दिपेन्द्र श्रेष्ठले विद्यालय स्तरमै दूधको उपयोगिता बुझाउने प्रयासले नीतिगत सुधारमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
प्रतियोगितामा इन्टरनेशनल जोसेफ पब्लिक स्कूलकी छात्रा भावना बराल प्रथम भइन्। सेन्ट जर्ज स्कूलका आर्यन शाही द्वितीय, युरेका हाई स्कूलकी जेसिका थापा तृतीय तथा दिव्यज्ञान उच्च माविकी सभ्यता कार्की र पिक प्वाइन्ट एकेडेमीकी प्रान्शु रावतले सान्त्वना पुरस्कार प्राप्त गरे।
विजेतालाई नगद, प्रमाणपत्र, शिल्ड, मेडल तथा दुग्धजन्य सामग्री प्रदान गरिएको थियो। निर्णायक मण्डलमा कवि सरोज ओझा र साहित्यकार राधिका कल्पित थिए भने कार्यक्रम सञ्चालिका मिडियाकर्मी प्रमिला खतिवडा थिइन्।
एसोसिएसनका महासचिव हेमचन्द्र खनालले सातै प्रदेशका २५ जिल्लामा विश्व दुग्ध दिवस मनाउने निर्देशन दिइएको जानकारी दिए। जेठ १६ गते रोजमेरी आइडल स्कूल, तारकेश्वरमा करिब १ हजार विद्यार्थीलाई निःशुल्क दूध सेवन गराउने कार्यक्रम रहेको संयोजक सञ्जेलले बताए।
यस वर्षको राष्ट्रिय समारोह हेटौंडामा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जानकारी सदस्य रामभक्त दाहालले दिएका छन्।
कार्यक्रमको उद्घाटन सत्रमा अतिथिहरुले विद्यालयका साना नानीहरूलाई दूध पिलाएका थिए भने सहभागी सबैलाई दूध तथा दुग्धजन्य पदार्थ वितरण गरिएको थियो।
उक्त प्रतियोगिता नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ, रोटरी क्लब अफ कपन, ब्रेन ल्याण्ड स्कुल, कृषि उद्यम केन्द्र, सिडिक्यान, नवप्रभात डेरी उद्योग लगायत संघसंस्थाको सहकार्यमा सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस्