काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने पूर्वसन्ध्यामा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले संघीय संसदका विभिन्न समितिका सभापतिहरूसँग भेटघाट गरी आफ्ना मागहरू राखेको छ।
सोमबार महासंघको प्रतिनिधिमण्डलले अर्थ समितिका सभापति सन्तोष चालिसे, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानसँग भेट गर्दै क्रसर व्यवसायको समस्या समाधानका लागि सरकारलाई स्पष्ट सन्देश दिन आग्रह गरेको हो।
महासंघले भेटमा हाल कानुनबमोजिम दर्ता भई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू २०७३ सालपछि नविकरण नभएकाले तत्काल नवीकरणको प्रक्रिया अघि बढाइ व्यवसाय सञ्चालनको वातावरण बनाउन सरकारलाई सुझाव दिएको छ।
भेटमा महासंघले निर्माणका लागि आवश्यक ढुंगा, गिटी, बालुवा जस्ता स्रोतसाधनको उपयोगबाट मुलुक आत्मनिर्भर हुने सम्भावना औँल्याउँदै, उद्योगलाई अवरोध गर्ने हैन, प्रोत्साहन गर्ने नीति बजेटमा ल्याउनुपर्ने धारणा राखेको थियो।
महासंघका अध्यक्ष सिताराम न्यौपानेले एमालेका महासचिव शंकर पोखरेललाई केही दिन अघि सरकारसँग ढुंगा, गिट्टी, बालुवालाई आम्दानीको दिगो स्रोत बनाउनेतर्फ स्पष्ट नीति परिवर्तनको माग राखेको भन्दै धन्यवाद दिएका थिए । न्यौपानेले भने, “केही दिनअघि महासचिव शंकर पोखरेलज्यूले ढुंगा, गिटी, बालुवाको प्रयोग गरेर आत्मनिर्भर बन्नुपर्ने विषयमा जुन माग उठाउनुभयो, त्यसलाई बजेटमा समेट्ने प्रतिबद्धता जनाउनुभएकोमा हामी आभारी छौँ।”
न्यौपानेले हालसम्म नवीकरण नभएका उद्योगहरूको समस्यालाई सम्बोधन गर्दै निर्माणसम्बन्धी विधेयक २०८० तत्काल संसदमा छलफलका लागि ल्याई कार्यान्वयनमा ल्याउनुपर्ने माग दोहोर्याएका थिए ।
“हामीले कानुनी रूपमा दर्ता भई सञ्चालनमा रहेका उद्योग नवीकरण गरी व्यवसाय चलाउन सकियो भने राज्यलाई स्रोत उपलब्ध गराउन सकिन्छ, रोजगारी सिर्जना हुन्छ, विकास निर्माणका काम छिटो अघि बढ्छ भने माग राखेका छौँ । उहाँहरु पनि हाम्रो मागहरु सम्बोधन गर्न सकारात्मक हुनुहुन्छ,” न्यौपानेले भने ।
महासंघले जेठ १५ गते प्रस्तुत हुन लागिरहेको आगामी बजेटमा आफ्ना माग समावेश गराउनका लागि सम्बन्धित सरोकारवाला समितिहरूसँग छलफल र भेटघाट गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्