काठमाडाैँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ मा निर्माण गरिएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको मंगलबार उद्घाटन गरेका छन् ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) अन्तर्गत निर्माण गरिएको उक्त सेवा केन्द्रको उद्घाटन गर्दै मन्त्री अधिकारीले अब किसानले माटो, बाली तथा पशुपन्छीमा लाग्ने रोगको परीक्षण सेवा आफनै गाउँमै सहजै पाउने विश्वास व्यक्त गरे ।
उनले यस्ता सेवा केन्द्रहरुको निर्माणले कृषि कर्म गरिरहेका किसानका लागि महत्वपूर्ण उपलब्धि हुने भन्दै मन्त्रालयले किसानलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यसाथ काम गरिरहेको उल्लेख गरे । “हामीले गरेका पछिल्ला निर्णय र प्रयासहरूले कृषि क्षेत्रमा छिट्टै सकारात्मक परिवर्तन देखिनेछ,” मन्त्री अधिकारीले भने ।
आगामी आर्थिक वर्षको बजेटमा कृषि सुधारसँग सम्बन्धित अपेक्षाहरू समेटिने विश्वास व्यक्त गर्दै उनले रासायनिक मल खरिद प्रक्रिया सरलीकृत गर्न खरिद नियमावलीमा संशोधन गरिएको जानकारी दिए। “अब मल खरिदमा लाग्ने समय छोटिनेछ,” उनले भने, “तर माग अनुसारको मल उपलब्ध गराउन अझै चुनौती छ, त्यसैले हामी प्राङ्गारिक मल प्रवर्धनमा पनि जोड दिइरहेका छौं।”
उक्त अवसरमा मन्त्री अधिकारीले धादिङको सल्यानटार आसपास कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान केन्द्र स्थापना गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको जनाउँदै पालिकालाई त्यसमा अग्रसर हुन आग्रह गरे ।
त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीले सेवा केन्द्रले वरपरका पालिकालाई समेत सेवा दिनेगरी सञ्चालन गरिने प्रतिबद्धता जनाए । माटो परीक्षण लगायतका सेवाका लागि अब काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्दै उनले उत्पादन वृद्धि हुने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा रिडका परियोजना निर्देशक डा.चन्द्र प्रसाद रिसालले एकै छानामुनि विस्तृत सेवा उपलब्ध गराउने उद्देश्यसाथ सेवा केन्द्र स्थापना गरिएको बताए। जिल्लाका अन्य पालिकाका पदाधिकारीहरूले कृषिको उत्पादन तथा बजारीकरणमा मन्त्रालयको थप सहयोगको अपेक्षा व्यक्त गरेका थिए।
कुल दुई करोड ४३ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भई पालिकालाई हस्तान्तरण गरिएको उक्त सेवा केन्द्रमा कृषि तथा पशुपन्छीमा लाग्ने रोग र माटो परीक्षणका लागि अत्याधुनिक प्रयोगशाला रहेको छ। रिडले मध्य पहाडी लोकमार्गलाई आधार मानी विभिन्न पालिकामा यस्ता सेवा केन्द्र निर्माण गरी हस्तान्तरण गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्