वडा तहसम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्ने गरी काम भइरहेको छः उर्जामन्त्री खड्का


काठमाडौँ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले स्थानीय वडासम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्ने गरी काम भइरहेको बताएका छन् ।

मन्त्रालयअन्तर्गत रहेको जल तथा मौसम विज्ञान विभागमा हिजाे प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पुगेका मन्त्री खड्काले वडा वडासम्म मौसम पूर्वानुमान सूचनालाई सम्प्रेषण गर्नेगरी विभागले काम गरिरहेको बताएका हुन् ।

“गत वर्षभन्दा यसवर्ष धेरै वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ, मौसम पूर्वानुमान प्रणालीलाई वडा तहसम्म पु¥याउन सकिए विपद्बाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्छ भन्ने हो, त्यसका लागि मन्त्रालय र विभागले काम गरिरेहको छ,”मन्त्री खड्काले भने ।

विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ सम्म मनसुन अवधि हुने बताए । उनले गण्डकी तथा लुुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराए ।

महानिर्देशक जोशीले कृषकका लागि साप्ताहिक रुपमा कृषि मौसम पूर्वानुमान प्रणालीबारे जानकारी दिँदै आएको बताए । उनले यो वर्ष एक हजार ५०० मिलिमिटरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको समेत उल्लेख गरे । उनले वर्षाद्बाट हुने क्षति न्यूनीकरणका लागि समयमै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारीलगायतलाई जानकारी गराउँदै आएको बताए ।

उनले विभागको कार्यालयमा स्थलगत रूपमा यसरी पहिलो पटक प्रधानमन्त्री तहबाट अवलोकन र अनुगमन भएकामा खुसी व्यक्त गरे । महानिर्देशक जोशीले उपलब्ध प्रविधि र स्रोतसाधनको अधिकतम प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने समेत बताए ।

अवलोकनका क्रममा उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजा, जलस्रोत तथा सिंचाई सचिव सरीता दवाडीलगायतको सहभागीता रहेको थियो ।