काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ रहेको बताएका छन् ।
बुधवार पार्टी केन्द्रिय कार्यालयमा पार्टी निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको अभियान अन्तर्गत बागमती प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय संगठनात्मक क्षमता अभिवृद्धि तथा सशक्तिकरण एवं प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली काँग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरु गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ रहेको उल्लेख गरे।
सभापति देउवाले भने, ‘नेपाली काँग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरु गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ छ । संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशिल बनाउन हामी लाग्नेछौँ ।
देउवाले आदिवासी जनजाति लगायतका समुदायका चाड पर्वहरुलाई राष्ट्रिय पहिचान दिने कार्यहरुको शुरुवात नेपाली काँग्रेसको नेतृत्वको सरकारले गरेको बताए ।
आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवद्र्धन गर्न काँग्रेस प्रतिवद्ध रहेको जनाउँदै देउवाले संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारु आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई थप श्रोत साधन सम्पन्न गराउन काँग्रेस सचेत रहेको बताए ।
सभापति देउवाले नेपाली काँग्रेस आदिवासी, जनजातिहरुको सशक्तिकरणका लागि सधैँ क्रियाशिल रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्