काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र कोशी प्रदेश कार्यालयको संयुक्त टोलीले कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका नेपाल विद्युत प्राधिकरणका वितरण केन्द्र तथा ग्रीड महाशाखाहरूको दुईदिने अनुगमन तथा सेवा प्रवाह मूल्याङ्कन सम्पन्न गरेको छ।
ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, कोशी प्रदेश प्रमुख राजीव सिंह तथा ऊर्जा मन्त्री दीपक खड्काका स्वकीय सचिव भूपाल मान बस्नेत सहितको टोलीले आइतवार र सोमबार विराटनगर, दुहबी, इटहरी लगायतका वितरण केन्द्रहरूमा स्थलगत निरीक्षण गरेको हो।
निरीक्षणका क्रममा टोलीले उपभोक्तासँग प्रत्यक्ष छलफल गर्दै विद्युत सेवा प्रवाहमा देखिएका समस्या, सम्भावना तथा सुधारका पक्षमा महत्त्वपूर्ण जानकारी संकलन गरेको जनाएको छ।
टोलीले विराटनगर, दुहबी तथा इटहरीका वितरण केन्द्र र दुहबी ग्रीड महाशाखाको सेवा सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै, उपभोक्ताबाट आएका केही गुनासोप्रति गम्भीर ध्यान दिइएको बताएको छ।
यसबिचमा अनुगमनकै क्रममा एउटा अचम्मको घटनाले टोलीको ध्यान तान्यो। सागर थापा नाम बताउने एक व्यक्तिले आइतवार साँझ ८ः१५ बजे ‘९७६३७०२७३४’ नम्बरबाट फोन गर्दै धनकुटामा विद्युत सेवा अवरुद्ध भएको दाबी गरेका थिए तर नेपाल विद्युत प्राधिकरणले सो क्षेत्रको अवस्था बुझ्दा कतै पनि सेवा अवरुद्ध नभएको पुष्टि भयो।
थप अनुसन्धानमा ती व्यक्तिले कर्मचारीलाई दु:ख दिने नियतले अपमानजनक भाषा प्रयोग गरेका थिए भने ‘बत्ती गएको’ भन्दै युट्युब तथा सामाजिक सञ्जालमा भिडियो राख्ने धम्कीसमेत दिएका थिए।
ऊर्जा मन्त्रीका स्वकीय सचिव बस्नेतका अनुसार, ती व्यक्ति धरानको पानमाराबाट फोन गरिरहेका थिए। झुटा विवरण प्रस्तुत गरी नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा मन्त्रालयको छवि धमिल्याउने प्रयास गरेकाले सम्बन्धित निकायमा सूचना दिइएको र प्रहरीमार्फत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिइएको छ।
केही दिनअघि ऊर्जा मन्त्री दीपक खड्काले झुटा विवरण दिएर सरकार र संस्थाको बदनाम गर्ने गतिविधिमाथि कडा कारबाही गर्ने चेतावनी दिएका थिए। पछिल्लो घटनाले मन्त्रीको चेतावनी व्यवहारमा परिणत हुँदै गएको देखिन्छ।
ऊर्जा मन्त्रालय र कोशी प्रदेशको संयुक्त टोलीले सत्य तथ्यको आधारमा सेवा प्रवाह सुधार गर्दै नागरिकका गुनासोलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाएको छ। मन्त्रालयले झुटा सूचना फैलाउने कार्यप्रति अब शून्य सहनशीलता अपनाइने स्पष्ट सन्देशसमेत दिएको छ।
प्रतिक्रिया दिनुहोस्