गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेस प्रदेशमा सरसफाई, प्रेस स्वतन्त्रता सेनानीहरूलाई सम्मान गर्ने तयारी


काठमाडौँ । गणतन्त्र दिवस २०८२ को पूर्वसन्ध्यामा मधेस प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानून मन्त्रालयले सरसफाई कार्यक्रमको आयोजना गरेको छ।

गणतन्त्र दिवसको सन्देश जनस्तरसम्म प्रभावकारी ढंगले पुर्‍याउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा गृहमन्त्री तथा सरकारका प्रवक्ता राजकुमार लेखी स्वयं उपस्थित भएर नेतृत्व गरेका थिए।

कार्यक्रममा गृह मन्त्रालयका सचिव विमलप्रसाद बराल, प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, नीति आयोगकी सदस्य डा। शिला मिश्रा, आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, मन्त्रालयका कर्मचारीहरू, साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

गृहमन्त्री लेखीले गणतन्त्र दिवसलाई केवल औपचारिकतामा सीमित नराखी, जनतासम्म सशक्त सन्देश प्रवाह गर्न यस्ता रचनात्मक कार्यक्रमहरूको आवश्यकता रहेको बताए।

उनले गणतन्त्रको मूल्य र पत्रकारिताको भूमिकालाई जोडेर जनमाझ सन्देश पुर्‍याउने योजना रहेको जानकारी समेत दिए।

यसै क्रममा गृह मन्त्रालयले जेठ १५ गते प्रदेशभरिका प्रेस स्वतन्त्रता सेनानीहरूलाई औपचारिक रूपमा सम्मान गर्ने कार्यक्रमको तयारी गरेको छ।

निरङ्कुश शासनविरुद्ध पत्रकारितामार्फत आवाज उठाउँदै लोकतन्त्रको जग मजबुत पार्न योगदान दिएका सञ्चारकर्मीहरूलाई समर्पित उक्त कार्यक्रम ऐतिहासिक हुने बताइएको छ।